भारत-पाकिस्तान द्वन्द्व: यस्तो छ पाकिस्तानले भारतीय पाइलटलाई रिहा गर्नुको रहस्य

भारतले पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको स्वागत गरेको छ।

भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू ‘निकै हर्षित’ भएको बताएका छन्।

उनलाई शुक्रवार अपराह्ण दुवै देशका पन्जाब राज्यको वाघा सीमामा भारतलाई हस्तान्तरण गरिने अपेक्षा गरिएको छ।

तर पाकिस्तानका गतिविधिहरूप्रति आफू सतर्क रहेको भारतीय सेनाले जनाएको छ।

कश्मीर क्षेत्रमा तनाव बढेसँगै अहिले नियन्त्रणरेखाका दुवैपट्टि दशौँ हजार सैनिकहरू तैनाथ छन्।

युद्धको त्रासले त्यस भेगका सयौँ बासिन्दाहरूले घर छाडिसकेका छन्।

शान्तिको सङ्केत

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशको संसद्‌मा बोल्दै त्यस कदमलाई ‘शान्तिको सङ्केत’का रूपमा अर्थ्याएका थिए।

अभिन्दन वर्तमानलाई मुक्त गराउने दबाव भारतीय अधिकारीहरूमाथि थियो। खानको घोषणाले उनीहरूलाई ठूलो राहत मिलेको बताइएको छ।

दिल्लीबाट बीबीसीका अन्बरसन एतिराजनका भन्छन् – पाकिस्तानी प्रधानमन्त्रीको त्यस्तो कदमले दुवै पक्षलाई पछिल्लो तनाव सुरक्षित रूपमा अवतरण गर्न सघाउने ठानिएको छ।

“तर यसकै कारण तनाव रोकिइहाल्ने सम्भावना त छैन। तर थप चर्काउन समेत कठिन हुने देखिन्छ।”

कश्मीरको पुलवामा भएको आत्मघाती आक्रमणको झन्डै दुई सातापछि दुई देशले हवाई कारबाही गरेका छन्।

भारतीय विमान पाकिस्तानी आकाशमा पुग्दा पाकिस्तानले आफ्नोतर्फ भारतीय वायुसेनाको एउटा विमान भुइँमा खसालिदिएको थियो र त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

भारतले आफ्नो सेनाले पनि एउटा पाकिस्तानी लडाकु विमान खसालिदिएको बताए पनि पाकिस्तानले त्यसलाई स्वीकारेको छैन।

के चाहन्छ पाकिस्तान?

पुलवामा घटनामा पाकिस्तानले आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

उसले भारतीय विमान खसालेको घटनालाई आफ्नो सीमारक्षाको दायित्व भन्ने गरेको छ।

तर दुई देशबीच आरोपप्रत्यारोप चलिरहँदा पाकिस्तानले मुख्य अन्तर्राष्ट्रिय हवाईमार्ग प्रभावित हुनेगरी हवाई प्रतिबन्ध लगाएको थियो।

त्यस्तो अवरोध शुक्रबारबाटै हटाइन सक्ने अपेक्षा गरिएको छ।

एक पाकिस्तानी विश्लेषकमा साद मोहम्मदले भनेका छन् – अभिनन्दन फिर्ता पठाउने कदमले पाकिस्तान र भारतबीच सम्बन्ध त राम्रो बनाउँछ नै, त्यसले इमरान खानको व्यक्तित्व पनि उँचो बनाएको छ।

“क्रिकेटरको रूपमा अन्तर्राष्ट्रिय प्रसिद्धि पाएका प्रधानमन्त्री खानले क्रिकेट खेलिने देशमै आफ्नो मिडियामैत्री र संवादकला देखाएका छन्।”

विश्लेषकहरूका भनाइमा अफगानिस्तानतिर अस्थिरता हुँदा पाकिस्तानले खेपेको असर देखेका इमरान खानले शान्ति र वार्ताबाट समस्या समाधान गर्ने रणनीति लिएका छन्।

अफगानिस्तानतर्फ अहिले अमेरिका र तालिबानबीच वार्ताहरू भइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि त्यहाँ डेढ दशकदेखि भइराखेको युद्ध टुङ्ग्याउन चाहन्छन्।

यसलाई ‘शान्ति चाहेको’ इमरानको प्रयासको लागि उपयुक्त वातावरणको रूपमा हेरिएको छ। बिबिसी

 

कमेन्ट गर्नुहोस्