लोकसेवा अनुभवः कहिल्यै घोकिनँ, बुझेर पढेँ

नेत्रप्रसाद भुसाल, काठमाडौं । सार्वजनिक प्रशासन सञ्चालन गर्ने मुख्य कार्यभार निजामती सेवाको रहेको हुन्छ । यो सेवाका लागि आवश्यक कर्मचारी छनोट लोकसेवा आयोगले गर्छ । आयोगले लिखित, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षाका विधिबाट उम्मेदवार छनोट गर्छ । यी सबै परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने उम्मेदवार निजामती सेवाका पदमा नियुक्तिको लागि उपयुक्त ठहरिन्छ ।

लोकसेवा आयोगले लिने परीक्षा प्रणाली र पाठ्यक्रम समयसापेक्ष परिमार्जन हुँदै गइरहेको छ । सरकारी सेवाप्रतिको बढ्दो आकर्षणका बीच प्रतिस्पर्धाको पारो दिनप्रतिदिन चढ्दै छ । थोरै संख्यामा माग गरिएको आवेदनमा पनि हजारौँको प्रतिस्पर्धा हुन्छ । यस्तो कठिन प्रतिस्पर्धामा छनोट हुनु सजिलो छैन । यसका लागि अध्ययन विधिमा विशेष ध्यान दिनुपर्छ ।

दृढ इच्छाशक्ति र आत्मबल : लोकसेवामा सफल हुनका लागि सर्वप्रथम आफूलाई मानसिक रूपमा तयार गराउनु पर्दछ । सो कार्य सम्पन्न गर्ने इच्छाशक्ति र आत्मबल आवश्यक हुन्छ ।

पाठ्यक्रमको पूर्ण ज्ञान : आफूले जाँच दिने विषयको पाठ्यक्रम राम्रोसँग अध्ययन गर्ने र सो विषयसँग सम्बन्धित विषयमा सन्तुलित ढंगले अध्ययन गर्ने बानी बसाल्नुपर्छ । कुनै विषयवस्तुमा बढी र कुनैमा अनभिज्ञता हुँदा त्यसले सफल भइँदैन । त्यसकारण सन्तुलित पढाइ नै सफलता हासिल गर्ने तरिका हो ।

नियमित अध्ययन गर्ने बानी : निरन्तर अध्ययन गर्ने बानी भएन भने लोकसेवामा सफल हुन असम्भवप्रायः छ । सधैँजसो निश्चित समय अध्ययन गर्ने बानीले परीक्षार्थीको अध्ययनको क्षेत्र र गहिराइ बढाउँछ ।

विषयवस्तुको फराकिलो अध्ययन : पाठ्यक्रमसँग सम्बन्धित विषयमा तपाईंको अध्ययन फराकिलो हुनुपर्छ । ताकि त्यसले तपाईंको आत्मबल बढाओस् । उदाहरणका लागि बजेटका बारेमा अध्ययन गर्दा बजेटको परिचय, यसको अवधारणा कसले, कहिले र कसरी ल्यायो इत्यादि, बजेटका उद्देश्य, विशेषता, प्रकार, नेपालमा बजेटसम्बन्धी व्यवस्था, बजेटका समस्या, चुनौती र समाधानको बाटो, बदलिँदो विश्व परिवेशलगायतको शैलीमा रहेर ज्ञान हासिल गर्नुपर्छ ।

लेखन शैली : परीक्षार्थीको मुख्य परीक्षण नै उसले आफ्नो उत्तरपुस्तिकामा प्रस्तुत गरेको प्रस्तुति भएकाले विषयवस्तुको जति धेरै ज्ञान भए पनि त्यो ज्ञान उत्तरपुस्तिकामा व्यक्त नगरेसम्म उसको मूल्यांकन हुँदैन ।

लेखाइ सिलसिलेवार हुनुपर्छ । सन्तुलित लेखाइ र शब्द चयनसमेत उत्कृष्ट हुनुपर्छ । तपाईंको लेखाइले जाँचकीको मनमा प्रभाव जमाउन सकोस् । पढ्दा सधैँ लेखन सीप विकास गर्नका लागि लेख्ने र आफैँले मूल्यांकन गर्ने गरेमा लेखाइमा निखार ल्याउन सकिन्छ ।

जानेको भन्दा प्रश्नले मागेको उत्तर दिने : परीक्षामा सोधिएको प्रश्न राम्रोसँग पढेर मात्र उत्तर दिनुपर्छ । यसरी उत्तर दिँदा उक्त प्रश्नले के मागेको छ सोही विषयमा जवाफ लेख्नुपर्छ, नकि आफूले जानेको लेख्ने ।

समय व्यवस्थापन : परीक्षामा समय व्यवस्थापन महत्वपूर्ण पक्ष हो । सोधिएका सबै प्रश्न तोकिएको समयमा सन्तुलित ढंगबाट लेख्नुपर्छ । कुनै उत्तर लामो लेख्दा अन्य प्रश्न छुट्न सक्छ । त्यसकारण समयसीमाभित्र रहेर प्रश्नको अंकभारअनुसार उत्तर लेख्नुपर्छ ।

सम्झने कलाको विकास : पढ्नु भनेको जान्नु÷बुझ्नु हो । तपाईंले जति नै समय पढ्नुस्, यदि तपाईंले सम्झनु/बुझ्नुभएको छैन भने त्यसले महत्व राख्दैन । मैले कति घन्टा पढेँभन्दा पनि मैले कति बुझेँ वा सम्झिएँ भन्नेले अर्थ राख्छ । त्यसकारण कुन तरिकाले पढ्दा सम्झन सकिन्छ, त्यो तरिका अपनाउनुपर्छ । कुनै गीतको लयमा ढालेर कुनै व्यक्तिको जीवनसँग आन्तरिकीकरण गरेर पढ्ने आदि तरिका अपनाउन सकिन्छ ।

आधिकारिक पाठ्यसामग्रीको अध्ययन गर्ने : अध्ययन गर्दा जहिले पनि पाठ्यक्रममा उल्लेखित विषयसँग सम्बन्धित सरकारी वा आधिकारिक निकायबाट प्रकाशित भएका आधिकारिक पाठ्यसामग्रीको अध्ययन गर्नुपर्छ । जस्तै : ऐन नियमका व्यवस्था, बजेट, आवधिक योजना तथा सरकारका नीति, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सन्धि, घोषणापत्र आदि ।
लोकसेवा आयोगको प्रश्न प्रणाली समयसापेक्ष जटिल हुँदै गइरहेको छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित घटनाक्रम, आविष्कार, प्रतिपादित सिद्वान्त, अन्वेषण तथा त्यसको नेपालमा प्रयोग, पाठ्यक्रमको नियमित अध्ययन र त्यसबारे अद्यावधिक रहनु आवश्यक पर्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकाजस्ता आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जाल र त्यसको जानकारी पनि लिनु आवश्यक पर्छ ।

अरू प्रतिस्पर्धीको क्षमतासमेत सूक्ष्म मूल्यांकन गर्दै आफ्नो अध्ययनको रणनीति बनाउनुपर्छ । परीक्षा दिनेहरूको भीडसँग सामना गर्न सक्छु भन्ने दृढ आत्मविश्वास, लगनशीलता, कडा परिश्रम, स्वस्थ जीवनशैली तथा जुनसुकै विषयलाई आफ्नो बनाएर पढ्ने बानीले पक्कै पनि सफलता मिल्छ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो । भुषाल संसद सेवाका शाखा अधिकृत हुन् ।

 

कमेन्ट गर्नुहोस्