किन रोकिएन बालविवाह ?

सिमकोट, फागुन १९ । कानूनले २० वर्ष वरको विवाह रोकेपनि हुम्लामा भने रोकिन सकेको छैन । सदरमुकाम सिमकोट रहेको गाउँपालिकामै एकै महिनामा तीनवटा बालविवाह भए । त्यसलाई रोक्ने प्रयास असफल भएका छन् ।

फागुन महिना लागेपछि मात्रै दुईवटा बालविवाह भएका छन् । जसमा यसपाली आगामी चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने जोडी छन् । यसरी बिहे हुने जोडीमा खार्पुनाथ गाउँपालिका वडा नं. ५ की समसा भण्डारी र सिमकोट गाउँपालिका वडा नं. ५ की सुनिता रोकाया रहेकी छन् । यसअघि माघमा पनि यस्तै अर्को जोडीले पनि बिहे गरेको थिए । उनीहरुको उमेर २० वर्ष पुगेको छैन ।

गतसाता बालविवाह गरेकी १६ बर्षीया सुनितालाई माइती पक्षले केटाको घरमै गएर रोक्ने प्रयास नगरेका होइन तर केटीले नै ‘म मन परेर विवाह गरकी हुँ’ भनेपछि माइती पक्ष चुपचाप बस्नु परेको सिमकोट ५ का सुरत रोकायाले जानकारी दिए । योभन्दा अझ रोचक पक्ष त भण्डारीको छ । उनलाई बिहे गरेको केटाको घरबाटै फर्काएर माइती लगिएको थियो तर फेरि फर्केर केटी स्वयं केटाको घर गएपछि थप रोक्ने प्रयास कसैले गरेनन् ।

बालविवाह भइरहेपनि त्यसलाई रोक्न, बोल्न र उजुरी दिन नसक्नु मुख्य कमजोरी भएको महिला मानव अधिकार रक्षक जिल्ला संजालका अध्यक्ष गङ्गा बोहराले जानकारी दिए । बालविवाह गरेमा उजुरी दिएर विवाह स्थगित गर्न सकेको भए यो न्यूनीकरण हुने बताउँदै उनले थपे, ‘सामाजिक अभियान अगाडि बढाउने कोही भएन ।’

घरमा छोरीलाई सबैले पढाउन थालेपछि झन पढ्दा पढ्दै आफूखुुसी विवाह गर्ने र त्यसले उमेर नपुगी विवाह गर्ने चलन बढाएको कतिपयका भनाइ छ । बोहरा भनछन्– ‘पढेका किशोर किशोरीले त झनै अरूलाई सम्झाउनुपर्ने हो आफै विवाह भागेर वा मन पराएर विवाह गर्ने भएपछि समस्या भएको छ ।’

सिमकोट गाउँपालिका महिला शाखाका प्रमुख ममता महतले उमेर नपुगी विवाह गर्ने यहाँको परम्परा रोक्न नसकिएकोमा चिन्ता प्रकट गरेका थिए । यसका लागि सामाजिक दबाब आवश्यक रहेको उनको भनाइ छ । अब स्थानीय तहले बालविवाहविरुद्ध प्रभावकारी अभियान चाल्नुपर्ने उनको सुझाव छ ।

बालविवाह नरोकिनुमा समाज मुख्य दोषी रहेको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले बताउँछन् । ‘प्रहरी आफैले जान्ने कुरा भएन कसैले उजुरी वा जानकारी दिँदैन, त्यही भएर प्रहरीलाई थाहा नै हुँदैन,’ उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्