अझै गोरु जस्तै जोतिँदैछन् मान्छे !

गाेरखा, फागुन २१ । जोत्ने खेत उही हो । हलो, अनौ, फाली, हरिस, सबै उही । हली पनि उस्तै हुन् । फरक के भने गोरुको सट्टा मान्छे नै नारिन्छन् । आधुनिक प्रविधिको विस्तारसँगै गाउँ गाउँका खेतबारी खनजोत गर्न ट्र्याक्टर पुगे पनि उत्तरी गोरखामा भने बारीमा मान्छे जोत्नुपर्ने बाध्यता अझै छ। यहाँ मकैको बीउ छर्ने बेला गोरुले नभई मान्छेले हलो तान्छन् ।

धार्चे गाउँपालिका–४, लाप्राकका किसान मकै छर्न व्यस्त छन् । हलो तान्ने र अनौ समाउन व्यस्त बलिया युवा लाप्राकको पाखाबारीमा देखिन्छन् । लाप्राककै पाखोबारीमा गत शनिबार पसिना काढदै थाप्लोमा नाम्लो अड्याएर हलो तान्दै थिए जितान गुरुङ । अनौ समातेर घचेट्दै थिए कान्छा गुरुङ । हलोको पछिपछि मकैको बीउ छर्दै थिइन् माया । लाप्राकलगायत यहाँको उत्तरी क्षेत्रमा यसरी मान्छेले हलो तान्ने दृश्य देख्नु नौलो होइन । वर्षभरि खाने अन्न उब्जाउन यहाँका स्थानीयलाई थाप्लामा नाम्लो अड्याएर हलो तान्नु बाध्यता हो । मकै रोप्ने सिजन सुरु भएसँगै स्कुले विद्यार्थी पनि साँझ–बिहान हलो तानेर बाबुआमालाई सघाउँछन् । बारीमा ढुंगा भएका ठाउँमा हलो तान्दा भने असजिलो हुने गरेको किसानहरू बताउँछन् ।

‘बाँझो सुर्का भने गोरुले जोत्छ, मान्छेले सक्दैन, मकै छर्ने बेला मात्र मान्छेले तान्ने हो,’ स्थानीय कुलबहादुर गुरुङले भने, ‘गोरुको हल नारेर जोत्नुभन्दा मान्छेले हलो तान्दा समय कम लाग्छ।’ यहाँका बासिन्दाले मकै बिहेअघि गोरुबाट बाँझो जोती मकै छर्न बारी तयार बनाएर गोठ खर्कमा सारेका छन् । खर्क पुग्न गाउँबाट एक दिनको पैदल यात्रा गर्नुपर्छ ।

‘यतिखेर यहाँ वस्तुलाई खुवाउने घाँस पनि कम हुन्छ, गोठालोले गोरु जंगलको चरन क्षेत्रमा लगिसके,’ उनले भने, ‘गोरु फेरि गाउँ ल्याउनुभन्दा मान्छेले जोत्नै सजिलो ।’ गोरुले जोत्दा डल्ला बढी आउने उनले बताए । उनका अनुसार मान्छेले जोत्दा डल्ला त्यति निस्कँदैन र कुटोकोदालो लगाउनु पनि पर्दैन ।लाप्राकको खेतीयोग्य भूमिका गह्रा साँघुरा छन्। पछिल्लो समय गोरु पाल्ने किसानको संख्या घटदै जान थालेको पनि स्थानीयको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्