सुदूरपश्चिम क्रिकेट टिमको अनौठो रेकर्ड, विपक्षी टिम ४ रनमै अलआउट !

धनगढी, फागुन २९ । धनगढीमा जारी मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा बुधबार भएको क्रिकेट खेलमा सुदुरपश्चिमको महिला टीमले कीर्तिमानी जीत हासिल गरेको छ । सुदूरपश्चिममको महिला टीमले कर्णालीलाई ४ रनमा अलआउट गरेर अनौठो किर्तिमान कायम गरेको हो ।

टस जितेर व्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनायो । उसका लागि रुवी पोदारले ५२ बलमा ८५ रन बनाईन् । यस्तै रेवती धामीले ४४ बलमा ६९ रन बनाईन् । २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको हो ।

कर्णालीका खेलाडीहरूमा रन बनाउने एक मात्र खेलाडी भने लक्ष्मी पुरी भइन् । पुरीले १ रन बनाएकी थिइन् । बाँकी ३ रन कर्णालीको खातामा अतिरिक्त रनको रूपमा जोडिन पुगेका थिए ।

सुदूरपश्चिमका लागि कविता कुँवरले २ ओभरमा २ ओभर नै मेडन राख्दै ४ विकेट लिईन्। यस्तै सुमन विष्टले २ ओभरमा ४ रन दिएर २ विकेट लिईन् ।प्रतियोगितामा आजदेखि क्रिकेट र फुटबलका खेलहरू सुरु भएका छन् ।

कमेन्ट गर्नुहोस्