अष्ट्रेलियाले ९ वर्षपछि भारतमा सिरिज जित्यो

काठमाडौं, फागुन २९ । भारत विरुद्धको पाँच खेलको एकदिवसीय सिरिज अष्ट्रेलियाले ३–२ ले जितेको छ । आज भएको निर्णायक खेलमा ३५ रनले भारतलाई हराउँदै अष्ट्रेलियाले सिरिज जितेको हो ।

अष्ट्रेलियाले ९ वर्षपछि भारतमा एकदिवसीय सिरिज जित्न सफल भएको हो । यसअघि, उसले भारत विरुद्धको वान डे सिरिज २०१२ मा जितेको थियो ।

सिरिजको अन्तिम खेलमा आज अष्ट्रेलियाले दिएको २७३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३७ रन मात्र बनाउन सक्यो ।

उसका लागि रोहित शर्माले ५५, केदार जाधवले ४४, भुवनेश्वर कुमारले ४६, विराट कोहलीले २०, विजय शंकर, ऋषभ पन्तले १६–१६, शिखर धवनले १२, रविन्द्र जडेजाले शून्य, मोहम्मद सामीले ३ र कुलदीप यादवले ९ रन बनाए । बलिङमा एडम जाम्पाले ३, प्याट कमिन्स, जय रिचडसन, मार्कस स्टोनिसले दुई–दुई र नाथन लायनले एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २७२ बनायो । उसका लागि उश्मान ख्वाजाले १००, पीटर ह्यान्सकमले ५५, कप्तान आरोन फिंचले २७, मार्कस स्टोनिस, एश्टन टर्नरले २०—२०, प्याट कमिन्सले १५, जय रिजडसनले  २९, एलेक्स केरीले ३, ग्लेन म्याक्सवेलले एक रन बनाए । बलिङमा भारतका भुवनेश्वर कुमारले ३, मोहम्मद सामी, रविन्द्र जडेजाले दुई—दुई र कुलदीप यादवले एक विकेट लिए ।

निर्णायक खेलमा आज भारतले एक र अष्ट्रेलियाले दुई खेलाडी परिर्वतन गरेको थियो । अष्ट्रेलियाले मार्कस स्टोनिस र नाथन लायनलाई टिममा समावेश गरेको थियो । उसले आज शन मार्स र जोसन बेहनड्रफलाई आराम दियो ।

यस्तै, भारतले पनि आजको खेलमा २ खेलाडी परिर्वतन गर्यो । उसले केएल राहुलको स्थानमा रविन्द्र जडेजा र युजवेन्द्र चहलको ठाउँमा मोहम्मद सामीलाई मौका दिएको थियो । यसअघि, अष्ट्रेलियाले भारतविरुद्धको २ खेलमो टी-२० सिरिज पनि २-० ले जितेको थियो ।

कमेन्ट गर्नुहोस्