सरकारले हटायो उपकुलपति, दुई वर्ष पहिले गरिएका थिए नियुक्त

धरान, फागुन ३० ।  सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारलाई पदमुक्त गरेको छ ।

प्रतिष्ठानको ४२ औं सिनेटले प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार पदमुक्त गर्न सिफारिस गरेको दुई सातापछि सरकारले रौनियारलाई उक्त निर्णय गरेको हो ।

रेडियोलोजीका प्राध्यापक रौनियारलाई कांग्रेस कोटाबाट तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सिफारिसमा उपकुलपतिमा नियुक्त गरिएको थियो।

फागुन १७ गते सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेटले प्रा डा रौनियारलाई बर्खास्त गर्न कुलपतिसमक्ष सिफारिस गरेको थियो । प्रतिष्ठानलाई विश्वविद्यालय सरहकै मान्यता प्राप्त छ र यसमा प्रधानमन्त्री कुलपति रहने गर्दछन् ।

सहकुलपति तथा स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरासियाले प्रधानमन्त्री कार्यालयबाट प्रतिष्ठानका उपकुलपति रौनियारलाई पदमुक्त गर्न पठाएको सिफारिस सदर भएर आएको बताए ।

उनले भने, ‘प्रतिष्ठानका उपकुलपति रौनियारलाई पदमुक्त गरिएको पत्र प्रधानमन्त्री कार्यालयले पठाएको छ । अब रौनियारलाई पदमुक्त गरेको जानकारी आज वा भोलिसम्ममा पत्रमार्फत दिइने छ ।’

पदमुक्त गरिएको भनिएका प्रतिष्ठानका उपकुलपति रौनियारले आफूलाई सिनेटमा पनि बस्न नदिई स्वास्थ्यमन्त्रीले एकलौटी ढङ्गबाट हटाउने सिफारिस गरेको आरोप लगाए ।

 

कमेन्ट गर्नुहोस्