निजामति ट्रेड युनियनः तीन पदाधिकारीद्वारा शपथ, सचिवमा भट्ट

काठमाडौं, फागुन ३० । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्य समितिको शपथ ग्रहण कार्यक्रम सकिएको छ । वि.सं २०७३ जेठ १९ मा निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्य समितिको चुनाव भए पनि सचिव र दुई सदस्यको शपथ भने विभिन्न प्राविधिक कारणले रोकिएको थियो ।

पुण्यप्रसाद ढकालको अध्यक्षतामा सञ्चालित सो शपथ ग्रहण कार्यक्रममा सचिव पदका लागि नेपाल राष्ट्रिय निजामति संगठनबाट प्रधिनिधित्व गर्दै आएका अम्बादत्त भट्ट र केन्द्रीय समितिको दुई सदस्यमा क्रमशः अम्बिका धमला र कोषप्रसाद खतिवडालाई अध्यक्ष ढकालले शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण गर्दै उनीहरुले निजामति कर्मचारीको हकहित र अधिकारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुलाई आधिकारिक ट्रेड युनियन विनियमावली २०६९ को अनुसुची १ को दफा २८ बमोजिम सपथ ग्रहण गराइएको हो ।

कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष पुण्यप्रासाद ढकालले हरेक निकायमा जनशक्ति व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण हुने बताउँदै त्यसका लागि कर्मचारीहरुलाई सजग भएर काम गर्न सुझाव दिए । उनले ऐन उल्लङ्घन गर्ने कर्मचारीमा पनि समस्या भएको र कर्मचारी समायोजन प्रक्रिया पनि राजनीतिक रुपले हुने प्रवृत्ति रहेको बताउँदै त्यसलाई रोक्न युनियनले सकेको कदम चाल्ने बताए ।

उनले भने, ‘निजामतीसँग सम्बन्धित कुनै पनि ऐन नियम बनाउँदा आधिकारिक ट्रेड युनियनलाई साथमा राखेर सुझावका आधारमा बनाउनुपर्ने भन्ने छ तर त्यसलाई उल्लङ्घन गरिएको छ ।’ ट्रेड युनियनको शिर निहुरिने किसिमका कुनै पनि काम युनियनले गर्न नदिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

यसैगरी नेपाल सरकारका सहसचिव रुपमारायण भट्टराईले सपथ ग्रहण गर्नेलाई बधाई तथा शुभकाना व्यक्त गर्दै इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न सुझाव दिए । उनले आधिकारिक ट्रेड युनियन सरकारको अभिन्न अङ्ग भएको बताउँदै निजामती कर्मचारीले सेवा प्रवाह कसरी गर्छ भन्ने कुरा युनियनसँग पनि जोडिने विषय भएकाले युनियनले सेवा प्रवाहमा भएका र देखिएका समस्यालाई न्युनीकरण गरोस भन्ने शुभकाना दिए ।

त्यस्तै नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय समिति पुर्ण नहुँदा रहेका प्राविधिक कठिनाइहरु अब समाप्त हुने बताए । शपथ ग्रहणसँगै युनियनमा २१ सदस्यीय केन्द्रीय कार्य समिति बनेको छ ।

अन्यको शपथ ग्रहण चुनावताका नै भए पनि प्राविधिक कारणले तीन जनाको शपथ ग्रहण भने रोकिएको थियो । सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथीका रुपमा श्रम विभागका कृष्णहरी न्यौपानेलाई निम्त्याइएको थियो ।

कार्यक्रममा मधेशी कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन लगायतका राष्ट्रिय स्तरका ट्रेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्