पीडितहरुलाई राहत वितरण गर्दै भारतीय महावाणिज्यूदूत, थप सहयोग गर्ने आश्वासन

बारा, चैत २० । बारा र पर्सामा आइतवार साँझ आएको विनाशकारी आँधिहुरीबाट प्रभावित क्षेत्रमा भारतीय सरकारले राहत सामग्री वितरण गरेको छ । बिरगंजस्थित भारतीय महावाणिज्य दुतावासले भक्तपुर निवासी मन्जित मल्लको सहकार्यमा बुधवार राहतका सामग्रीहरु वितरण गरेको हो । बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ४,५ र ८ का पीडित परिवारलाई भारतीय महावाणिज्य दोतावासले राहत वितरण गरेको हो ।

१ लिटरको २ सय थान रियल जुस, पाल २ सय थान, मिनरल वाटर २ सय कार्टुन र ४ हजार ५ सय वटा चाउचाउ वितरण गरिएको सहकार्यकर्ता मन्जित मल्लले बताए । ‘प्रायः जसो राजनीतिक दल र संघ संस्थाको राहत फेटा गाउँपालिकामै केन्द्रित थियो तर अन्य प्रभावित गाउँमा भने राहतको सामान पुग्न सकिरहेको थिएन, ‘सहजकर्ता मल्लले भने, ‘भारतीय महावाणिज्य दूतावासले बारा जिल्लाको प्रमुख जिल्ला अधिकारीको समन्वयमा नै सुवर्ण गाउँपालिकामा राहत वितरण गरेको हो ।’

बुधवार त्यहाँ ७१ प्रभावित घरमा ढोका ढोकामा नै पुगेर राहत वितरण गरिएको थियो । वितरणपछि बाँकी रहेका सामानहरु त्यस गाउँपालिकाका उपाध्यक्ष बबिता यादवलाई र वडा नम्बर ४, ५ र ८ का वडाध्यक्षहरुलाई वितरण गरिदिनका लागि हस्तान्तरण गरिएको मल्लले बताए ।

कमेन्ट गर्नुहोस्