कहाँ छ कोरिया कहाँ छौँ हामी ?

कहाँ जापानले ४५ वर्ष शासन गरेको देश दक्षिण कोरिया कहाँ ब्रिटिशले पूरै भारत कब्जा गरिसक्दा पाइला टेक्न नसकेको मेरो देश नेपाल ।

फरक अवश्य छ । तर, फरक उल्टो छ । फरक यति छ कि आकाश र पातालबीच हुने फरकभन्दा बढी छ । हाम्रा नेताहरु आदर्शका मीठा–मीठा भाषणहरु जति मजाले छाँट्छन् उति नै मजाले आफ्नो आदर्शको खिल्लि पनि उडाउँछन् । कार्यक्रम स्थलमा फालिएका मिनरल वाटरका बतलले दक्षिण कोरियामा एउटा बच्चाले बाटोमा आलु चिप्स खायो भने त्यसको खोल ब्यागमा बोकेर हिँड्छ, घरमा डस्टविन छ भनेर । तर, हाम्रा देशका विभिन्न विद्वान् नेतालाई थाहा छैन कि मिनरल वाटरको बोतल रिसाइकल हुन्छ भनेर ।

त्यो फ्याँकेर बाटो फोहोर गर्ने होइन, त्यसलाई टिपेर रि–साइकल गर्ने हो । बेरोजगारीलाई रोजगारी दिने हो, देशको अर्थतन्त्र जोगाउने हो, खाडी पलायन रोक्ने हो एउटा खुड्किलो हो । यो कुरा कसले भनिदिने हाम्रा विद्वान् नेताहरुको टाउकोमा ? कोरियाको एउटा ५ वर्षको बालकको जति पनि बुद्धि छैन हाम्रा वरिष्ठहरुसँग भने कोरिया र नेपालबीच फरक अवश्य नै छ ।

यो त एउटा सानो उदाहरणमात्र हो । समाज बदल्नु छ भने सुरुवात आफैंबाट गर्नुपर्छ नि । हाम्रो देशको विकासको तरिका धेरै बाटो काट्न ज्यान माया मारेर अघि बढ्नुपर्छ किनकि जेब्राक्रस छ तर त्यो क्रस गर्नुभन्दा अगि गाडी रोकिनुपर्यो नि । अगाडि रोकिएको छैन किनकि गाडी रोक्नलाई न लाइटको व्यवस्था छ न त पर्याप्त ट्राफिक नै ।

कोरियामा जहाँ बाटो बन्छ त्यहाँ बाटो काट्न जेब्राक्रस अनि अगाडि रोक्नलाई ट्राफिक लाइट र नियम पालना भएको नभएको अनुगमन गर्नलाई सीसी क्यामेरा राखिएको हुन्छ । त्यसैले त कहाँ छ कोरिया, कहाँ छौँ हामी । भनिन्छ, कुनै बेला कोरियामा भोकमरीमा पर्दा नेपाल , भारतलगायत देशले खाद्यान्न सहयोग गरेका थिए ।

त्यो स्वाभिमान बिर्सेर आज हामी कोरियामा रोजगारीका लागि जान पाउँ भनेर परीक्षाको फाराम भर्न विवश छौँ । जम्मा १०,००० कोटाको लागि ८०,००० भन्दा बढी युवाहरु कोरियन भाषा सिकेर परीक्षा दिने तयारीमा छन् । जतिसुकै तयारी गरेपनि पास हुने भनेको १०,००० को हाराहारीमा हो । बाँकी ७०,००० को मेहनत भनेको बालुवामा पानी हो । तर हाम्रो सरकार गर्व गर्छ कि कोरिया रोजगारीको लागि आकर्षक गन्तव्य हो भनेर ।

तर, ती घुम्ने मेचका अन्धा महापुरुषहरुलाई यो थाहा छैन कि कोरियनहरु पनि पहिले बेरोजगार खाडी जान्थे यदि त्यो देश चलाउने नेता नेपाली थिए भने सायद आज कोरियनहरु पनि हामी जसरी नै विकिदिन्थे होला कोरियनहरु विदेश गए तर, त्यहाँबाट ल्याएको पैसा र सिकेको सीपले आफ्नै देशमा उद्योगधन्दा चलाए तर हामी नेपाल आयौँ घर बनाएर फेरि खाडीमा गएर मेसिन चलायौँ । यसैले त फरक छ नेपाल र कोरियामा ।

काम सानो र ठूलो नहुनु अनि ज्याला समान हुनु दक्षिण कोरियाको अर्को विशेषता हो । त्यहाँ कम्पनिका मालिकहरु पनि साधारण कामदारसरह काम गर्छन् जसरी चे ग्वाभारा मन्त्री हुँदा पनि फ्याक्ट्रीमा गएर काम गर्थे । यो काम गर्दा इज्जत बढ्ने अनि त्यो काम गर्दा इज्जत घट्ने भन्ने संस्कार कोरियामा छैन । त्यहाँ सानो ठूलो स्वदेशी विदेशी जो कोहीले काम गरेपनि न्यूनतम पारिश्रमिक सबैको समान छ । र वर्षपिच्छे तलब बढ्छ। हाम्रो देशमा जस्तो तलब वृद्धि गर्नुपर्यो भनेर आन्दोलन गरिरहनुपर्दैन ।

हामी चटपटे खान्छौँ लाज हुँदैन तर त्यही चटपटे बेच्नेको चाहीँ बेइज्जत भयो भन्छौँ । चटपटे खाँदा लाज नहुने तर बेच्दा लाज हुने, लुगा सिउनेले छोएको नचल्ने तर त्यही लुगा लगाएर हिँड्दा आफुलाइ वरिष्ठ महसुस हुने ।

यसले अन्यायपूर्ण सामाजिक विरोधाभाष सृजना भएको छ । यस्तो पाराले देश कसरी अगाडि बढ्छ ? सबैले सोच्ने कुरा यही हो । कोरियाको फेशनमात्र होइन हामी कोरियन संस्कृति संस्कार पनि सिक्नु जरुरी छ । विडम्बना यो छ कि कसैले कोरिया यस्तो छ, हामी पनि यस्तै गरौंन भन्यो भने यो कोरियामा गएर के आएको थियो, तेस्तै भइसक्यो भनेर उसको खिल्ली उडाइन्छ । मानौं देश बनाउने काम नेताहरुको मात्र हो, जनताको हैन । हामी यति धेरै पछि छौँ कि रुढीवादी कुरा र जातीय विभेदमा अल्झेका छौँ ।

हामी कुवामै छौँ। कुवाभन्दा माथि उक्लेका छैनौँ । त्यसैले कुनै नेताले विदेश भ्रमण गरे भने त्यसको विरोध नगरौँ । उनीहरुले संसारको विकास देख्छन्, अनि हामी ढुंगेयुगमै रहेछौँ भनेर महुसुस गर्छन् । कोरियामा नो हो भ्यान काम गरेका पूर्वराष्ट्रपति आफूमाथि भ्रष्टाचारको अभियोग सहन नसकेरै आत्महत्या गरे । हाम्रा देशका नेता भ्रष्टाचारको अभियोगमात्र होइन प्रमाणित नै हुँदा पनि फूलमाला र अबिर लगाएर आफूलाई महान् ठान्छन् । दक्षिण कोरिया यस्तो देश हो जहाँ वेश्यालयमा एउटा पुरुष छिरेको शुल्क कति हो , भन्ने कुरा सरकारले तोकिदिन्छ । हामी महिला अधिकारको कुरा उठाउँछौँ । एउटी महिलालाई आफ्नो शरीर बेच्न पाउनेको अधिकार दिन हिच्किचाउँछौँ । मजदुरको नाममा ठूलाठूला आवाज उठाउँछौँ तर सिंहदरबार अगाडि गुड्ने माइक्रो चालक र सहचालकले न्यूनतम् पाएपाएनन् भनेर अनुगमन गर्दैनौँ । नियम बनाएपछि सबै कुरा स्वतस्फूर्त कार्यान्वयन हुन्छ । कोरियामा नियमलाई अक्षरशः पालना गरिन्छ ।

हामी नियम बनाएर दराजको कुनामा थन्क्याउँछौँ । त्यसैले त त्यो कोरिया अनि यो नेपाल । हामीले कल्पना गरेको स्वर्ग उसले बनाइसक्यो, तर हामी धार्मिक ग्रन्थमा कल्पना गरेको स्वर्गको बखान पढ्नमै सीमित छौँ ।

दक्षिण कोरिया गणतन्त्रात्मक देश हो । अनि नेपाल पनि गणतन्त्र आएपछि राजा सामन्तवाद हुनुपर्ने हो , देश विकासको बाधक जहाँनिया राणाशासन भयो भनिनुपर्ने हो तर यसको सट्टा राजाले देश जोगाउन सहयोग गरे भनेर त्यहाँ पढाइन्छ । पैसामा पनि फोटो छापेर राजाको सम्मान गरिन्छ । हाम्रो देश नेपालमा सय वर्षअगि राणाहरुले देश जोगाए भनेर पढाइयो, पचास वर्षअघि महाराजाहरुले जोगाए भनेर पढाइयो, अहिले आएर ती दुवैलाई सामन्तवाद भनेर व्याख्या गरियो, भोलि अर्को तन्त्र आउला अनि अहिलेको व्यवस्थालाई पनि खतम व्यवस्था भनी व्याख्या गरिएला । यसरी इतिहासलाई आफूअनुकूल व्याख्या गर्ने काम नेपालमा गरिन्छ ।

एउटा विदेशीले नेपालको इतिहास पढ्यो भने उ रनभूल्लमा पर्छ । नपरोस पनि कसरी कुनै इतिहास सही छैनन्, व्यवस्था अनुरुप मनपरी इतिहास बनाइएका छन् ।

अमेरिकामा अब्राहम लिंकन राष्ट्रपति भए उनले दासप्रथाको अन्त्य गरे । यो राम्रो काम हो तर त्यो भन्दा नि राम्रो काम त नेपालमा चन्द्र शमशेरले सती प्रथाको अन्त्य गरे । एउटी महिला आफ्नो पतिको मृत्युमा जिउँदै जलेर मर्नु चानचुने कुरा हो ? यो सानुतिनु प्रथा हो ? यस किसिमको कहालिलाग्दो प्रथाको अन्त्य गर्ने चन्द्र शमशेर नेपाली इतिहासमा कसरी कलंकित भएरु आफू राम्रो काम गर्न सक्दैनौ अनि उसको दोष औंल्याएर पानीमाथिको ओभानो बन्न खोज्छौ । इतिहास सत्य लेखिनु पर्छ चाहे त्यो आफ्नै विरुद्ध किन नहोस् । भावी पुस्ताले सत्य इतिहास पढून् अनि मनन् गरुन् नकि झुटो इतिहास पढेर तत्कालीन राज्यव्यवस्थाप्रति आलोचना गरुन् ।

कोरियाको आम्दानीको मुख्य स्रोत भनेको सामान निर्यात गर्ने अनि विदेशी मुद्रा आर्जन गरेर देशको अर्थतन्त्र मजबुत बनाउने होे । हाम्रो भनेको बेरोजगार युवा विदेश पठाउने अनि आएको आम्दानीले देशको अर्थतन्त्र धान्ने हो । यो देशका शासकले विदेशबाट भित्रिएको रेमिट्यान्सले उद्योग धन्दा खोलेर स्वदेशमै रोजगारीको सृजना गर्ने कुरा कहिल्यै सोचेनन् । सबै भेडाबाख्रा जसरी देशका युवालाई विदेश पठाएर भित्रिएको रकमले तलब भत्ता खाएर कुम्भकर्ण जसरी सुतिरहे । यिनीहरुलाई यो थाहा छैन कि कोरियनहरु भोकमरीमा परेर समुद्रको लेउ खान बाध्य भएका थिए । त्यो बेला उनीहरुको पेटमा नेपालको पनि अन्न परेको थियो । तराईमा धान उत्पादन बढी भएर नेपालले विदेश पठाउँथ्यो । प्रकृतिले दिएको त्यो उर्वर भूमि आज प्लटिङ्गले सखाप पारेको छ ।

कोरियामा जथाभावी घर बनाउन पाइँदैन । घर बनाउने ठाउँमा घर र खेती गर्ने ठाउँमा खेती गर्नुपर्छ जमिन बाँझो राखे जरिवाना तिर्नुपर्छ । आज हामी वार्षिक करिब २५ अर्बभन्दा बढीको चामल भारतबाट आयात गर्छौं । हाम्रो मेहनत सबै भारतमा जान्छ । मौरीको चाकाबाट मह निकालिसकेपछि रहेको खोस्टा जसरी खाडीको पैसा नेपालमा बस्छ अनि मह चाहिँ भारतमा जान्छ । अनि देश कसरी बन्छ ? ठूलाठूला वरिष्ठले गाउँका सोझा जनता भेला पारेर आदर्शका आश्वासनहरु दिन सजिलो छ तर देशलाई विकास गर्न मीठा कुरा र चाम्रो मासुले सकिंदैन । कसैको विरोध गर्नुपर्यो भने विरोध ठाँउ हुन्छ । कोरियामा अनि हाम्रो देश चाहीँ लोकतान्त्रिक तर विरोध गर्नलाई सीधै गाडी बन्द गर्नुपर्छ, जनतालाई दुःख दिनुपर्छ अनिमात्रै आफ्नो स्वार्थ पूरा हुन्छ ।

आन्दोलनले गर्दा देशको हरीबिजोक छ तर सरकार चुपचाप छ । भूकम्पले गर्दा जनता त्रिपालमुनि छन् तर सरकार विदेशीले दिएको रकम खल्तिमा हालेर चुपचाप छ । सरकार छ तर कहाँ छ भनी दिउँसै बत्ती बालेर खोज्ने बेला आएको छ । सरकारी विद्यालय छ तर पढ्नुपर्छ निजीमा । सरकारी अस्पताल छ तर डाक्टरहरु भेटिन्छन् निजीमा, कर्मचारी छन् तर सहारा लिनुपर्छ दलालको, धारा छन् तर पानी किन्नुपर्छ जारको, बत्ती छ तर जोड्नुपर्छ सोलार, जलस्रोतको धनी देश तर खेती गर्ने बेला भ्यागुताको बिहा गर्नुपर्छ । सीसी क्यामेरा छ तर क्यामेरामा टेप टाँसेर खल्तिमा रकम हालिन्छ । जताततै भ्रष्टाचार र कमाउधन्दा मात्रै छ । कोरियाको अख्तियारले राष्ट्रपति कार्यालयको छानबिन गर्न सक्छ तर अख्तियार एउटा पत्रकारलाई छुन सक्दैन नेताको त कुरै छोडौं ।

देशको मान्यता, विकृति विसंगतीलाई सबैको मन कुंडिएर आउँछ । देशको राजनीतिक सामाजिक व्यवस्थासँग संघर्ष गरेर विदेशिने युवाहरुको संख्या बढ्दो छ । यसरी युवा पलायनले देश बन्दैन भन्ने सबैले सोच्नु जरुरी छ । हामी पनि कोरियाबाट सिकौं र देशमै केही गरौं । कोरिया उपनिवेश बन्यो, युद्ध भयो, टुक्रियो, विकासका संरचनाहरु ध्वस्त भए, भोकमरीमा परे, समुद्रको लेउ र जंगलको कन्दमूल खान बाध्य भए।

यति हुँदाहँदै पनि उसले ५० वर्षको अवधिमा गरेको यो प्रगतिबाट हामीले सिक्ने हो भने नेपाल विकास हुनलाई ५० वर्ष कुरिरहनै पर्दैन । कोरियासँग के छ ? केही पनि छैन तर हामीसँग पर्यटन, उर्वरभूमि, हरियाली जंगल, वन्यजन्तु विभिन्न प्रकारका खानीहरु छन् । मात्र यसको सही सदुपयोग गर्ने एउटा राजनेताको खाँचो छ । आशा छ त्यो राजनेता देशले चाँडै पाउनेछ ।

लेखकः सुवर्ण पोखरेल, हाल दक्षिण कोरिया

कमेन्ट गर्नुहोस्