छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

गौशाला, चैत २१ । महोत्तरीको लोहारपट्टि नगरपालिकामा बिहीबार बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा छ महीनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो ।

आफ्नी आमासँग आफ्नै घरमा सुतेका दूधेबालक महमद बिहीबार बिहानै अचानक सुतेकै अवस्थामा खाटबाट लडेपछि उनी नरुने, कराउने र नबोल्ने भएपछि परिवारजनले तत्काल उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै लोहारपट्टि–१ बगडा बस्ने धनी रामका छोरा पाँच वर्षीय आकाशको पनि उपचारका क्रममा बिहीबार बिहान जनकपुर अञ्चल अस्पतालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनलाई यही चैत १४ गतेका दिन बिहान आफ्नै घरमा भात पकाएर राखिएको माड (सीता)मा पोलेर गम्भीर रुपमा घाइते भई अस्पतालमा उपचाररत रहेकामा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा दिसा गर्ने १७ जना पक्राउ

खुल्ला दिसामुक्त अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्ने १७ लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार प्रहरी र खुल्ला दिसामुक्त अभियानकर्मीले बिहीबार बिहान जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडाबाट १७ लाई बाटोमा दिसा गर्नेलाई पक्राउ गरी ल्याएको छ ।

जलेश्वर नगरपालिका–३, ४, ६ र १२ मा बाटोमा दिसा गर्दै गरेकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेकालाई जनही ५०० जरिवाना गरेपछि छाडिने छ । महोत्तरी खुल्ला दिसामुक्त गर्न अभियानकर्मी, प्रहरी, प्रशासन सबै एकजुट भएर लागे पनि दैनिकजसो १२ भन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्