गर्भवती महिलाका घरमा पहेँलो झण्डा

बैतडी, चैत २२ । बैतडीको शिवनाथ गाउँपालिका–३ का अधिकांश घरको छाना तथा घर नजिकैको आँगनमा झण्डा गाडिएका छन् ।

गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयवासीको घरमा झण्डा गाडिएको हो ।

सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताए । गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरुलाई सेवा प्रदानमा सहज होस् भनेर झण्डा गाडिएको अहेव कलौनीले बताए ।

वडामा रहेका गर्भवती महिलाका घरमा पहेंलो र दुई वर्षमुनिका बालबालिका भएका घरमा हरियो झण्डा गाडिएको उनले बताए। झण्डा गाडिएका घरमा स्वास्थ्य र पोषणका कार्यक्रम केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको कुरा सबैलाई जानकारी दिन पनि सजिलो भएको अहेव कलौनीले बताए ।

वडाभरिका सुनौलो हजार दिनका आमा र बच्चा कोही पनि कुपोषित नहोऊन् र उनीहरुको पोषणमा पहुँच पु¥याउन सजिलो होस् भन्ने हेतुले झण्डाले घर चिनाएको उनको भनाइ छ। घरको छानामा झण्डा राखेदेखि स्वास्थ्यकर्मीले समेत नियमितरूपमा गर्भजाँच गराए–नगराएको बारेमा, पोषिलो खानेकुरा लगायतका विषयमा सोध्ने गरेको स्थानीयवासी सीता पार्कीले बताइन्। हरियो र पहेँलो झण्डाले चिनाएका घरमा पोषणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भएको छ। रासस

कमेन्ट गर्नुहोस्