यी हुन् एसईई प्रश्नपत्र आउट गर्ने व्यक्तिहरूः प्रहरीदेखि परीक्षार्थीसम्म

काठमाडौं, चैत २२ । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अभियुक्तहरुमा राजविराज नगरपालिका(१० का २८ वर्षीय विश्वुदेव यादव, २२ वर्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका(१६ का २८ वर्षीय मनोज यादव रहेका छन् ।

त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १ का १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र कञ्चनरुप नगरपालिका ६ का २५ वर्षीय दिपेन्द्रकुमार मण्डल प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको आरोपमा पक्राउ परी सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएका ब्रह्मदेव र दिपेन्द्र प्रहरी हुन् भने मनोज शिक्षक हुन्। राजेश, उमेश परीक्षार्थी हुन्।

सिराहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी ब्रह्मदेवले विज्ञान र सामाजिक विषयको प्रश्नपत्रको फोटो खिचेरदाइविष्णुदेवलाई दिएका थिए । विष्णुदेवले पाएको प्रश्नपत्रका तस्बिर शिक्षक मनोजलाई दिएको र उनले परीक्षार्थी राजेशलाई दिए । राजेशले आफ्ना साथी उमेशलाई दिएपछि अन्य विद्यार्थीहरुमा पुगेको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ । सीआईबीका अनुसार विद्यार्थीहरुलाई प्रश्न पत्र उपलब्ध गराउँदा रकम लेनदेन भएको थियो ।

प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो । त्यसपछि सीआईबीले छानबिन टोली पठायो । त्यही टोलीमार्फत् उनीहरुलाई पक्राउ गरिएको थियो ।

कमेन्ट गर्नुहोस्