स्वस्थ्य र सभ्य समाज निर्माणमा भरतपुर महानगर क्रियाशील : प्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वस्थ्य र सभ्य समाज निर्माणको क्षेत्रमा भरतपुर महानगर सधैँ क्रियाशील रहेको बताउनु भएको छ ।

चितवनमा शनिबार आयोजित नेपाल क्षयरोग निवारण संस्थाको ३९ औँ केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रोगीहरुका बीचमा असल व्यवहारको आवश्यकता रहेको धारणा राख्नुभयो । प्रमुख दाहालले क्षयरोग नियमित औषधि सेवनले निदान हुने भन्दै क्षयरोगको निदान र रोकथामका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउनु भयो ।

भरतपुर मेडिकल सिटीको रुपमा विकास भैरहेको स्मरण गराउँदै उहाँले सबै प्रकारको रोगको निदान र उपचारमा प्रभवकारी सेवा प्रवाह गर्नु भरतपुर र चितवनको प्रमुख दायित्व हुने बताउनु भयो ।

यसका लागि भरतपुर महानगरपालिका क्रियाशील रहेको भन्दै प्रमुख दाहालले सोही बमोजिम भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गरिएको बताउनु भयो । भरतपुरमा पर्याप्त स्वास्थ्य संस्थाहरु रहेको भन्दै उहाँले यहाँ रहेका अस्पताल, मेडिकल कलेज, नर्सिङ होमहरुमा अति विशिष्ट प्रकारका सेवा सुविधाहरुको बिस्तार र विकासको खाँचो रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, नेकपाका नेता बद्री तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी लगायतले क्षयरोगका बारेमा धारणा राख्दै सबैको सामुहिक प्रयासबाट क्षयरोगको निदान र नियन्त्रण गर्न सकिने बताउनु भएको थियो ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले क्षयरोगविरूद्ध जागरुक बनाउने हाम्रो भावना, क्षयरोगबिनाको संसाार देख्ने हाम्रो चाहना भन्ने मूल उद्देश्यका साथ काम भैरहेको बताउनु भयो । क्षयरोगका बारेमा जानकारी दिँदै उहाँले क्षयरोगको जिवाणु पत्ता लगाउने डा। रबर्ट ककको योगदानको स्मरण गर्नुभयो ।

क्षयरोगको निदानमा उल्लेख्य काम भैरहेको बताउँदै उहाँले अझै १३ हजारको हाराहारीमा क्षयरोगका बिरामी उपचारको दायरामा आउन नसकेको बताउनु भयो । यिनै बिरामीका कारण संक्रमण बढिरहेको उहाँको भनाइ छ । यसलाई रोक्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले यसको रोकथाममा सबैको सामुहिक प्रयास हुनुपर्ने बताउनु भयो ।

उहाँका अनुसार क्षयरोग निवारणका लागि संस्थाका ३८ शाखाले देश विदेशका संघसंस्थासँगको सहकार्यमा काम गरिरहेका छन् । कार्यक्रमको अध्यक्षता गर्नु भएका दामोदर न्यौपानेले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्