जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोजमा नगरप्रमुख भने, ‘छुवाछूत मुक्त नगरपालिका बनाउँछु ’

कपिलबस्तु, चैत २४ । जातीय विभेद र छुवाछुतको अन्त्यको लागि मेची–महाकाली पदयात्रामा रहेका अभियन्ताहरुलाई कपिलबस्तुको शिवराज नगरपालिकामा स्वागत गर्दै वृक्षारोपण तथा सामुहिक सहभोजको आयोजना गरिएको छ ।

शिवराज नगरपालिकाको आयोजनामा चन्द्रौटाको दुर्गा मन्दिर परिसरमा वृक्षारोपण तथा सामुहिक सहभोजको आयोजना गरिएको हो ।

‘जातीय विभेद र छुवाछूतको व्यावहारिकरुपमै अन्त्य गरौं’ भन्ने मूल नारासहित महाकालीबाट मेचीसम्म पदयात्रामा निस्किएका होमराज आचार्य, अशोक दर्नाल र रिता परियारको टोली कपिलबस्तुको चन्द्रौटामा आएको अवसरमा शिवराज नगरपालिकाका स्थानीयबासी र दलित अधिकारकर्मीहरुको सहभागितामा स्वागत गरिएको थियो ।

पदयात्राका अभियन्ताहरु तथा स्थानीयहरुको सहभागितामा विभेद अन्त्य गरौं लगायतका नारासहित शुक्रबार सडकमा लेखन गरिएको थियो भने शनिबार शिवराज नगरपालिकाको दुर्गा मन्दिर परिसरमा वृक्षारोपणसँगै सहभोज गरिएको थियो ।
जातीय छुवाछूत समाजको कलंकको रुपमा रहेको भन्दै आफ्नो नगरपालिकालाई केही वर्षमा छुवाछूतमुक्त नगरपालिका बनाउने शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए । ‘मैले केही वर्षमै शिवराज नगरपालिकालाई छुवाछूत मुक्त नगरपालिका बनाउँछु, यो मेरो प्रतिबद्धता हो’ उनले भने, ‘यदि कसैले छुवाछूत गरे म जस्तोसुकै कारबाही पनि गर्न तयार छु ।’

जातीय छुवाछूतका मुद्दामा प्रहरी प्रशासनलाई राजनीतिक दबाबमा परेर जागिर जोगाउने दाउपेचमा लाग्दा दोषीहरु उम्काउने गरेको ईलाका प्रसासन कार्यालय चन्द्रौटाका प्रमुख नरवहादुर खड्काले बताए । ‘छुवाछूतको मुद्दा राजनीति हस्तक्षेपको कारण प्रहरी प्रशासनबाट गल्ती हुन्छ, उनले भने, ‘राजनीतिकरणले दलित समुदायमाथिको विभेद कायम गरेको छ ।’

पूर्वसभासद् तथा दलित आन्दोलनका अगुवा विनोद पहाडीले जातीय छुवाछुतका घटनाहरु एकपछि अर्को गदै श्रृंखलाबद्ध बढ्दै गर्दा कारबाही गर्ने निकाय बेखबर हुनु र संविधानले दिएको अधिकारलाई कार्यान्वयन गराउन लडाई लाड्नुपर्ने अवस्था आउनु राष्ट्रको लागि लज्जाको विषय भएको बताए । ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा सम्मानजनक रुपमा दलित समुदायलाई बाँच्न अझै कठिन छ, कानूनहरु बनेका छन् तर कार्यान्वयन हुँदैन, उनले भने, ‘यो राष्ट्रकै लागि लज्जाको विषय हो ।’

विभिन्न संघ संस्थाका प्रतिनिधी, जनप्रतिनिधी, पत्रकार, समाजजसेवी र नागरिक समाजका अगुवाहरुको सहभोजमा सहभागितामा रहेको थियो । राजपा नेपालका केन्द्रीय सचिव रविदत मिश्रा, नेपाली कांग्रेसका युवानेता अजय थापाले संम्बोधन गरेका थिए । सहभोज कार्यक्रम दलित अधिकारकर्मी मिना परियारको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्