समायाेजनले रित्तिए डाक्टर, सेती अञ्चल अस्पतालमा २ जना मात्रै

कैलाली । सेती अञ्चल अस्पताल डाक्टरविहीन हुने अवस्थामा पुगेको छ ।

१५ जनामध्ये १३ जना डाक्टर संघीय सरकार मातहतका अस्पतालमा समायोजन भएपछि अस्पताल नै चिकित्सकविहीन हुने अवस्थामा पुगेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजन अनुसार अव सेती अञ्चल अस्पतालमा २ जना मात्रै डाक्टर रहने छन् ।

१० औँ तहका डाक्टर खगेन्द्र भट्ट र ९ औँ तहका डाक्टर जगदिश जोशीको मात्रै सेती अञ्चल अस्पतालमा समायोजन भएको छ भने अन्य सवै सरकारी डाक्टरको संघीय मातहतमा रहेका अस्पतालमा समायोजन भएको छ ।

सेती अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याइएको छ, तर सवै डाक्टरको सरुवा भने संघीय सरकारको मातहतमा रहेका अस्पतालमा गरिएकाले अस्पतालको झनै बिजोग हुने देखिएकोे चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशी बताए ।

सरकारले गरेको समायोजनले सेती अञ्चल अस्पतालको भविष्य नै संकटमा पारेको तर्क चिकित्सकहरुको छ । समायोजनको विरोध गर्दै चिकित्सकहरु आन्दोलित छन् । 

आफूहरुले बाध्य भएर समायोजनको विरोध गर्दै सेवा नै ठप्प पार्नुपरेको सरकारी चिकित्सक संघ (गोदान) का सुदूरपश्चिम प्रतिनिधि डाक्टर कपिल गौतम बताए ।

स्थापनाकालदेखि नै चिकित्सक, जनशक्ति र पूर्वाधारको अभाव झेल्दै आएको सेती अञ्चल अस्पताल झन् समस्यामा परेको छ ।

त्यसमाथि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीलाई अझ सास्ती भएको छ ।

स्वास्थ्य सेवा नै ठप्प पार्नुभन्दा आन्दोलनका अन्य विकल्प खोज्न बिरामीहरुले सुझाव दिएका छन् ।

१९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल २०४० साल अञ्चल अस्पतालमा स्तरोन्नति भएको थियो ।

५० सैयाको सरकारी स्वीकृति पाएको अस्पतालको अन्य सेवा सुविधा भने ३५ वर्षसम्म उस्तै छ । 

source: imagekhabar.com

कमेन्ट गर्नुहोस्