भारतकाे महिला लिग खेल्ने तयारीमा सावित्रा र अनिता

काठमाडौं, चैत २६ । नेपाली महिला फुटबल टोलीका सदस्यहरु सावित्रा भण्डारी र अनिता बस्नेतलाई भारतको महिला लिग खेल्ने प्रस्ताव आएको छ।

‘गोल मेसिन’ सावित्रा
अखिल नेपाल फुटबल संघ(एन्फा)का प्रवक्ता किरण राईले उनीहरुलाई इन्डियन महिला लिग खेल्ने प्रस्ताव आएको पुष्टि गरे। फागुनमा सम्पन्न पाँचौं साफ महिला फुटबल प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता भएकी थिइन् भने अनिताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। दुवै खेलाडी भने हाल नेपाली टोलीसँगै म्यानमारमा टोकियो ओलम्पिक २०२० को एसिया छनोटमा व्यस्त छन्। नेपालले मंगलबार इण्डोनेसियासँग खेल्दैछ।

उनीहरुलाई प्रस्ताव गर्ने टोलीको बारेमा भने एन्फाले विस्तृतमा खुलाएको छैन्। तर, सावित्रालाई गोकुलाम केराला र अनितालाई सेथु क्लबले अनुबन्धनको प्रस्ताव गरेको नेपाली महिला टोलीका प्रशिक्षक हरि खड्काले जनाएका छन्।

गत सिजनमा सेथु क्लब सेमिफाइनलमा पुगेको थियो भने गोकुलाम केराला समूह चरणबाटै बाहिरिएको थियो। २०१६ बाट सुरु भएको इण्डियन महिला लिग फुटबलमा उद्घाटन संस्करणको विजेता इस्टर्न स्पोर्टिङ यूनियन थियो। २०१७(१८ को उपाधि भने राइजिङ स्टुन्डेन्ड क्लबले जित्यो। उक्त संस्करणमा ७ टोलीले सहभागिता जनाएका थिए।

कमेन्ट गर्नुहोस्