सरकारी अस्पतालः चिकित्सकले आकस्मिकबाहेक सबै सेवा ५ दिनदेखि ठप्प, सरकार संवादहीन

काठमाडौं, चैत २७ । सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेको पाँच दिन बितिसक्दा पनि समस्या समाधानको पहल भएको छैन । ‘हामी जुनसुकै बेला समस्या समाधानका लागि वार्तामा जान तयार छौं,’ सरकारी चिकित्सक संघ (गोडान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘सरकारले समस्या समाधानको पहल गरेको छैन ।’ चिकित्सकको हडतालले सेवा बन्द भएपछि जिल्ला अस्पताल सल्यानमा अलपत्र बिरामी ।

सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित शुक्रबारदेखि सरकारी चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित छन् । उनीहरू अवैज्ञानिक र असमान ढंगले समायोजन गरेको, स्थानीय तहमा कनिष्ठ कर्मचारीमातहत राख्ने व्यवस्था गरिएको, चिकित्सकको अध्ययन वृत्ति–विकासमा अप्रत्यक्ष अवरोध गरेको जस्ता कारण देखाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकहरूको छाता संगठन, नेपाल चिकित्सक संघले मंगलबार सरकारी चिकित्सकको समस्याबारे उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग छलफल गरे पनि निष्कर्ष निस्केन । ‘उपप्रधानमन्त्रीले समायोजनको त्रुटि सच्याउन तयार रहेको बताए पनि लिखित रूपमा माग्दा दिन मिल्दैन भन्नुभयो,’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘उनले आन्दोलन नछाडे कारबाही हुने चेतावनी दिए ।’

चिकित्सक संघका पदाधिकारीले समस्या समाधान नखोजी कारबाहीमा गए सबै चिकित्सक आन्दोलित हुने चेतावनी दिए । आठौं र सोभन्दा माथिल्लो तहमा कार्यरत चिकित्सकलाई संघमा पुल दरबन्दी सिर्जना गरी समायोजन गरे समाधान हुन सक्नेसरकारी चिकित्सकहरूको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्