दैलेखको पश्चिम क्षेत्रमा असिनापानी, ३५ करोडबराबरको बाली क्षति

काठमाडौं, चैत २७ । दैलेखको टाँठीकाँध गाउँपालिका–२ की ६५ वर्षीया नान्दरी विकका छोरा रोजगारीका सिलसिलामा भारतमा छन् । घरमा बुहारी र दुई नाति–नातिनी छन् । गहुँबाली भित्र्याउन उनका छोरा नेपाल आउने तयारी गर्दै थिए, तर प्राकृतिक प्रकोपपछि उनी उतै रोकिए । शुक्रबार साँझ आएको असिनाले भित्र्याउन ठिक्क परेको गहुँबाली सखाप बनाएको छ । काट्ने वेला भएका गाउँलेका सबै गहुँका दाना असिनाले भुइँमा झारेको छ । गहुँको नलसमेत सद्दे छैनन् ।

धेरै दुःख र कष्ट गरी फलाएको गहुँ भित्र्याउनै लाग्दा असिनाले नष्ट गरेपछि टाँठीकाँध गाउँपालिकामा ठूलै कठिनाइ आइपरेको छ । ‘घरमा खाने अन्नको गेडो छैन, अर्कोको गोरु, अरूसँग मागेको बीउले चारसुर्का जमिनमा लगाएको गहुँ घर भित्र्याउने वेलामा असिनाले पूर्णरूपमा नष्ट गर्यो,’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीसँग नान्दरीले रुँदै भनिन्, ‘गाउँका सबैको गहुँका दाना बारीमा छन्, लगातार पानी परेको छ । निकै दुःख–कष्ट व्यहोर्नुपरेको छ ।’

विपत्तिको मारमा दलित समुदाय
भीषण असिनापानीको मारमा दलित समुदाय परेका छन् । वडा नम्बर–२ मा दलित समुदायको बाक्लो बसोवास छ । ‘मेरो १७ जनाको परिवार छ, असिनापानीले अब खाने गाँस बचेन, कि त सबै परिवार लिएर भारत जानुपर्ने भयो, होइन भने, सरकारले हामीलाई हेर्नुपर्यो,’ स्थानीय खड्क विकले भने ।

बालबालिका बचाउन दलित समुदायले सरकारसँग माग गरेका छन् । पश्चिम क्षेत्रका अधिकांश मानिस रोजगारीका लागि भारत जाने गरेका छन् । एकबाली लगाएर भारतमा काम गर्न जाने र बाली भित्र्याउन घर आउने गर्छन् । आधा किलोसम्मका असिनाले किसानहरूले लगाएका केराको सबै बोट नष्ट बनाएको छ ।

तरकारीबाली मात्रै ६ करोडको क्षति
टाँठीकाँध गाउँपालिकामा किसानले लगाएका तरकारीबालीमा पूर्ण क्षति पुगेको छ । बन्दा, काउली, लसुन, प्याजलगायतका तरकारीसँगै वर्षात्को वेलामा फल्ने अवस्थामा रहेको फर्सी, चिचिन्ना पनि सखाप भएको छ । टाँठीकाँध गाउँपालिकामा मात्रै ६ करोडबराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक विवरण छ ।

प्रदेश सरकारले चासो नदिएको स्थानीयको गुनासो
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीको घर टाँठीकाँध गाउँपालिका–६ मा पर्छ । उनको गाउँमा असिनाले सबैभन्दा धेरै क्षति गरेको छ । प्रदेश सभामुखको गाउँमा ठूलो क्षति भए पनि प्रदेश सरकारले यसबारे चासो नदिएको स्थानीयको गुनासो छ । सभामुख शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सल्लाह गरेर तत्काल राहतका लागि छलफल गर्ने बताए ।

चार वडा बढी प्रभावित
गहुँ र तरकारीमा आत्मनिर्भर टाँठीकाँध गाउँपालिका वडा नम्बर १,२, ३ र ६ मा लगाएका सबै अन्नबाली असिनापानीले नष्ट गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए । शुक्रबार साँझ आएको असिना सोमबार बिहानसम्म पग्लिएको थिएन । ‘करिब आधा किलोजत्रो असिना परेको थियो । साँझपख भएकाले बालीनाली सबै नाश गर्यो, घरभित्र भएकाले मानवीय क्षति भने भएन,’ स्थानीय सुकमाया विकले भनिन् । असिनापानीले बालीनाली सखाप बनाएपछि गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष सुस्मिता सिंह, जिल्ला प्रशासन कार्यालय दैलेखका लेखापाल नरेश्वर अधिकारी, कृषि ज्ञान केन्द्र दैलेखका प्रतिनिधिलगायतको टोली किसानका बारीमै गएर क्षतिको जानकारी लिएको थियो ।

टाँठीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिकालगायत पश्चिमका अधिकांश क्षेत्रमा तरकारी, फलफूल, गहुँ, जौ नष्ट भएको गाउँपालिकाले तयार पारेको प्रारम्भिक विवरणमा जनाइएको छ । टाँठीकाँध गाउँपालिकामा मात्रै २० करोडबराबरको क्षति भएको गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन् । यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको नगर प्रमुख सूर्यबहादुर शाहीले बताए ।

खाद्य डिपो स्थापना गर्न माग
दैलेखको टाँटीकाँध गाउँपालिकामा रहेको खाद्य डिपो सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो । तत्काल डिपो स्थापना गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको छ । गहुँबाली र तरकारी बाली सबै नष्ट भएपछि बजारमा कृत्रिम अभाव देखिएको छ । एक हजार पाँच सय बोरा पर्ने चामलको मूल्य रातारात दुई हजार रुपैयाँ पुगेको छ ।

अस्वाभाविक बजारमूल्य बढेपछि विस्थापित भएको खाद्य डिपो स्थापनाका लागि गाउँपालिकाले जिल्ला, प्रदेश र केन्द्रसँग माग गरेको हो । एक साताभित्र डिपो स्थापना नभए स्थानीय समस्यामा पर्ने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

कमेन्ट गर्नुहोस्