रोनाल्डोको गोलले यूभेन्ट्स आयाक्ससँग बराबरीमा रोकियो

काठमाडौं चैत २८ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा यूभेन्ट्स आयाक्ससँग १-१ को बराबरीमा रोकिएको छ। बुधबार राति क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो १ सय २५औं गोल गरेको खेलमा आयाक्सले एक मिनेटभित्रै गोल फर्काउँदै खेललाई बराबरीमा टुंग्याएको थियो। रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक स्कोरर समेत हुन्। उनले १ सय २५ गोल गर्दा बार्सिलोनाका लियोनल मेस्सीले १ सय ८ गोल गरेका छन्।

पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डोले पहिलो हाफ सकिनै लाग्दा जाओ क्यान्सिलोको क्रसमा डाइभिङ हेडर मार्फत गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो १ सय २५औं गोल पूरा गरेका थिए।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै घरेलु टोली आयाक्सले बराबरी गोल फर्कायो। १५ यार्डबाट डेभिड निरिशले प्रहार गरेको सटले जाली चुमेको थियो। यी दुईबीचको दोस्रो लेग यूभेन्ट्सको मैदान टुरिनमा १६ अप्रिलमा हुनेछ।

कमेन्ट गर्नुहोस्