वर्तमान ओली सरकाले वर्षभरी काम हैन उखान टुक्का मात्रै हान्योः शेरबहादुर देउवा

काठमाडौं, चैत २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षमा एउटा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । विकास र समृद्धिको सट्टा हत्या र बलात्कार मात्र बढेको आरोप उनको छ । सरकारले अधिनायकवाद बढाउँदै जनताको अधिकार खोसेको पनि उनले बताए ।

बुधबार काभ्रेको भकुण्डेबेसीमा कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय शिलान्यास तथा वृहत आमसभामा बोल्दै सभापति देउवाले सरकारले एक वर्षमा एउटा पनि देखाउन लायक काम गर्न नसकेको बताएका हुन् ।

‘ओली सरकाले काम होइन उखान टुक्का मात्र हान्ने काम गर्‍यो,’ देउवाले भने, ‘बोलेका काम कुनै पूरा गर्न सकेको छैन । एक वर्ष भयो सरकारले अधिनायकबाद, हत्या हिंसा र बलात्कारीको संरक्षणमा लागेको छ ।’

यसबाहेक नेता देउवाले निर्मला पन्तको हत्याराको संरक्षणमा सरकार लागेको पनि आरोप लगाए । ‘हत्या हिंसा बलात्कार नियन्त्रण गर्न नसक्ने सरकारबाट के अपेक्षा गर्न सकिन्छ आफैँ हत्यारा बलात्कार र भष्ट्रचारीको संरक्षणमा लागेको छ ।’यो समाचार अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरिएके हो ।

कमेन्ट गर्नुहोस्