मोरङमा पूर्वराजा ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

मोरङ, चैत २८ । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा मोरङका एकको मृत्यु भएको छ।

बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकस्थित सडकमा ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी मजोज केसीले जानकारी दिए । उनको विराटननगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एसपी केसीका अनुसार सो गाडी पूर्वराजा ज्ञानेन्द्र शाहले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएका थिए।

उनका अनुसार सो दुर्घटनामा मोटरसाइकल चालक ईटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी घाइते भएको र उनको नोबल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना गराउने कार र चालकलाई नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्