सरकारले पब्जी खेलमाथि प्रतिबन्धको घोषणा

काठमाडौं, चैत २९ । सरकारले बिहीबार पब्जी खेलमाथि प्रतिबन्धको घोषणा गरेपछि सामाजिक सञ्जाल तरंगित बनेको छ । पब्जीमा भुल्नेहरु सरकारको निर्णयबाट स्तब्ध बनेका छन् । आखिर एउटा भिडियो गेममाथि प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था कसरी आयो ? त्यसको चर्चा गर्नु अगाडि पब्जी खेल के हो र कसरी खेलिन्छ भन्ने बुझौं

इन्टरनेटका माध्यमबाट मोबाइल र कम्प्युटरमा खेलिने यो खेल तपाईँले खेल्नुभएको छैन भने पनि अरुले खेलेको देख्नुभएकै होला या, कुराकानी गरेको त पक्कै सुन्नुभएको छ । भर्चुअल संसारमा नरमाउनेका लागि रुचीकर नभए पनि त्यसैमा डुबेकाहरुले भने पब्जीमा छुट्टै संसार पाउँछन् । नेपालमा नै केही समय अगाडि पब्जीमार्फत नै भएको चिनजान मायाप्रेममा परिणत भएर एक जोडीले बिबाह गरेको खबर बाहिरिएको थियो ।

सन् २००० मा ‘ब्याटल रोयल’ नामको एउटा जापानी चलचित्र बनेको थियो । त्यसैमा आधारित रहेर दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले सुरुवाती चरणमा २०१७ को मार्चमा ‘प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स’ अर्थात पब्जी खेल बनाएको हो । यसलाई डिसेम्बर २०१७ मा पूर्णरुपमा बाहिर ल्याइयो । यसका निर्माताका रुपमा ब्रेन्डन ग्रिनीलाई लिइन्छ । जसलाई हिजोआज ‘प्लेयर अननोन’ कै नामले समेत चिनिन्छ ।

२०१८ मा पब्जीलाई भिडियो गेम प्रकाशक तथा वितरक स्टिम कर्पोरेसनले ‘वर्षको उत्कृष्ट भिडियो गेम’ को अवार्ड पनि दिएको थियो ।

के हुन्छ पब्जीमा ?

पब्जीमा धेरै मानिसको एउटा आइल्याण्ड हुन्छ, जहाँ एकअर्कालाई मार्ने प्रयास गरिन्छ । एक्लै, दुई जना साथी बनेर, चार जना साथी बनेर टिमका रुपमा पनि खेल्न सकिन्छ । यसमा आफू बचेर बस्नु र अरुलाई मार्नु नै जितको मूल आधार हो । जो अन्तिमसम्म बाँचिरहन्छ उही विजेता बन्छ ।

खेल सुरु हुँदा सय जनासम्म भर्चुअल खेलाडी हुन्छन्, जसलाई प्लेनमा राखेर एउटा समुद्री तटमा लगेर प्यारासुटमार्फत छाडिन्छ । त्यसपछि त्यहाँ विभिन्न स्थानमा राखिएका हतियार, गोली, बम, बुलेट प्रुफ भेस्ट, औषधीजस्ता सामान संकलन सुरु हुन्छ । त्यसपछि नै मार्ने र बच्ने प्रक्रिया सुरु हुन्छ ।

खेल हुँदै जाँदा युद्धक्षेत्र निश्चित घेराभित्र खुम्चिँदै जान्छ र खुम्चिनुभन्दा पहिले तोकिएको समयमै घेराभित्र जान सक्नुपर्छ । यदि जान नसके विस्तारै खेलाडीको स्वास्थ्य कमजोर हुँदै गएको संकेत देखिन्छ । यदि स्वास्थ्य बचाउन नसके खेलाडीको मृत्यु हुन्छ । जब जब खेलाडी कम हुँदै जान्छन्, खेल अझ रोचक हुँदै जान्छ । खेल हुँदै जाँदा राम्रा हतियार, औषधी र बुलेट प्रुफ भेस्ट निश्चित क्षेत्रहरुमा खसालिन्छ, जसलाई ‘एयर ड्रप’ भनिन्छ । जब अन्तिममा कुनै समूह या व्यक्ति विजेता बन्छ, तब त्यसलाई ‘विनर विनर चिकेन डिनर’ भनेर खेल जितेको संकेत दिइन्छ ।

पब्जीमा अंक आउने चार तरिका छन् । एउटा गेम प्वाइन्ट, जसमा कति समयसम्म खेलाडी टिकिरहन सक्छ भन्ने कुरा प्रमुख रहन्छ । अर्को हिट प्वाइन्ट, जसमा दुश्मनलाई गोलि हानेको आधारमा अंक आउँछ । तेस्रो किल प्वाइन्ट, जसमा दुश्मनलाई मारेपछि निश्चित अंक आउँछ । समूहमा खेलेका बेला भने यस्तो अंक बाँडिने गर्दछ । अर्को जितपछि पनि निश्चित अंक आउँछ ।

स्तरीय ग्राफिक्स

सुरुमा कम्प्युटरमा मात्रै खेल्न मिल्ने बनाइएको भएपनि अहिले ‘पब्जी मोबाइल’ बनिसकेको छ । मोबाइलमा निःशुल्क चल्ने हुँदा यो सामान्य मान्छेको पहुँचमा पुग्यो । पब्जी प्रचलित हुनुको महत्वपूर्ण कारण भनेको खेल जितेपछि आउने पुरस्कार हो, जुन केही अंकमा आउँछ । त्यही अंक पुनः अर्कोपटक खेल्दा काम आउँछ । अर्को पक्ष भनेको यसमा प्रयोग भएको ‘ग्राफिक्स’ हो, जुन असाध्यै स्तरीय छ । पहिले प्रचलनमा रहेका काउन्टर स्ट्राइक जस्ता भिडियो गेममा भन्दा पब्जीमा धेरै कुरा समेटिएकाले पनि यो छिटो फैलिएको हो ।

यसको ‘कन्ट्रोलिङ पावर’ राम्रो हुने, साथीहरुसँग मिलेर कुराकानी गर्दै खेल्न मिल्ने भएकाले पनि छिटो नै फैलिन पुग्यो । सामान्यतः दुई जीबी र्‍याम भएको मोबाइलमा इन्टरनेटको पहुँच हुँदा राम्ररी चल्ने भएकाले पनि अरु भिडियो गेमको तुलनामा यसको विस्तार छिटो भएको हो ।

आआफ्नै तर्क

मोबाइल, पीसी र ल्यापटपमा समेत खेल्न मिल्ने भिडियो गेम पब्जीमा पछिल्लो समय धेरै किशोर र युवाहरुको लत नै लागिसकेको थियो । विश्वमा पब्जीका कारण हत्या, आत्महत्या, झगडा, मानसिक समस्या जस्ता असर देखिन थालेपछि नीति निर्माण तहमा समेत एउटा भिडियो गेमका बारेमा चर्चा हुन थाल्यो ।

कतिले यसलाई मनोरञ्जनका रुपमा मात्रै लिइनुपर्ने तर्क अघि सारे भने कतिले मानसिक समस्या नै देखाएर हिंसामा प्रेरित गर्ने भएकाले प्रतिबन्ध नै लगाउनु पर्ने बताए । भारतको गुजरातमा पब्जी खेलेको भेटिएमा पनि कारबाही गर्ने भन्दै प्रहरीले सूचना नै जारी गरेको थियो । हालै मद्रासको अदालतले यो खेलमाथि रोक लगाएको थियो ।

नेपालमा पब्जी खेलिरहेकाहरु भने पब्जी मोबाइलभन्दा पब्जी पीसी अलि राम्रो भएको तर्क गर्छन् । पीसीमा मात्रै खेल्नेहरु मोबाइलमा खेल्नेहरुलाई कमजोर बताइरहेका हुन्छन् । पीसीमा पब्जी डाउनलोड गर्नका लागि पैसा तिर्नुपर्ने ९झण्डै ३० डलर० भएकाले पनि धेरैले मोबाइलमा मात्रै खेल्ने गरेको भेटिन्छ । कतिसम्म भने नेपालमा पीसी र गेमिङ कन्सोल ९प्लेस्टेसन, एक्स बक्स आदि० मा खेल्नेहरु मोबाइलमा सजिलो हुने र जस्तोसुकै व्यक्तिले पनि खेल्न थालेकाले खेलको स्तरीयता बिग्रिएको समेत आरोप लगाउँछन् ।

खेल लाइभदेखि पैसा कमाउनेसम्म

कतिपय पब्जी खेलहरु अहिले युट्युबमा पनि भाइरल बनिरहेका छन् । अझ कति पब्जी प्लेयरले त खेलिरहेको समयमा ‘ट्वीच’ नामको वेवसाइटमार्फत आफ्नो खेल लाइभसमेत गरिरहेका हुन्छन् । जहाँ हजारौँ दर्शक हेरिरहेका हुन्छन् । आफ्नो खेल लाइभ गर्नुका साथै उनीहरुले केही टिप्स पनि दिने भएकाले पब्जी खेल्नेहरु दर्शक बनेका हुन्छन् ।

नेपालमा नदेखिए पनि विदेशमा भने यस्तै लाइभमार्फत पैसा कमाउने पब्जी खेलाडी पनि धेरै नै छन् । उनीहरुको लाइभ हेरिरहेकाले पैसा पठाउने गर्दछन् । अझ पब्जीभित्रको भर्चुअल सामान बेचेर पैसा कमाउने पनि छन् । बेला बेलामा हुने पब्जी प्रतियोगिता पनि खेलाडीको पैसा कमाउने माध्यम बन्ने गरेको पाइन्छ ।

नेपालमा पब्जीमाथि प्रतिबन्ध लगाइए पनि यस्तै अरु खेलहरुको भने त्यति चर्चा छैन । पब्जी जस्तै फोर्टनाइट, फ्रि–फायर, एपेक्स लिजेन्ड्स, रुल्स अफ सर्भाइभल जस्ता खेलहरु पनि छन् । जसमा युद्धकै शैली अपनाइन्छ ।

प्रतिबन्ध ठीक कि बेठीक ?

सरकारको निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सुखद प्रतिक्रिया देखिएको छ । धेरैले सही कदम चालिएको प्रतिक्रिया दिएका छन् । पब्जी खेलका कारण कतिपयको मानसिक सन्तुलन बिग्रिएकोदेखि आत्महत्या गरेका घटनाहरुसमेत संसारका विभिन्न भागबाट आउने गरेका थिए । त्यसैले पब्जीलाई प्रतिवन्ध लगाउने कुरा अन्य देशहरुमा पनि उठ्ने गरेको छ ।

मनोविदहरुका अनुसार पब्जीले खेलाडीलाई एकोहोरो बनाउँछ । उनीहरु दिनरात यसमा कसरी जित हासिल गर्ने भन्ने ध्याउन्नमा हुन्छन् । यसले उनीहरुको दैनिक व्यवहार नै प्रभावित गर्न सक्ने देखिएको छ ।

भिडियो गेम भनेको एउटा मनोरञ्जनको साधन हो । तर, पब्जी मनोरञ्जनमा मात्रै सिमित भएन । यो लागूऔषध जस्तै बन्यो । यसलाई मन्द विषको संज्ञा समेत दिने गरिएको छ । त्यसैले गर्दा पब्जीलाई प्रतिबन्ध लगाउने नागरिक हितमै देखिन्छ ।

यद्यपि, व्यवहारिक पाटोमा यो प्रतिवन्धलाई कार्यान्वयन गर्न जटिल हुन सक्छ । यो एपलाई डाउनलोड गर्नै नमिल्ने बनाउने हो वा खेल्नेलाई कारवाही गर्ने हो भन्ने सरकारले प्रष्ट पारेको छैन । यो समाचार अनलाइन खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्