गायिका सुनिताको एकल गीति संग्रह ‘सुनमाला’ सार्वजनिक

काठमाडौं, चैत २९ । चर्चित गायिका सुनिता कार्कीको एकल गीति सङ्ग्रह सुनमाला शुक्रबारदेखि सार्वजनिक भएको छ ।

म्यूजिक नेपालको प्रस्तुतिमा रहेको एल्बममा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका हुन् । सुनमाला एल्बममा दुनियाँमा, शितल हिमाली हावाजस्तै, साथी नै चाहिन्दा, शिरशिर सिरीरीलगायत ६ वटा गीतहरु समावेश छन् । एल्वममा रहेका गीतहरुमध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएकी हुन् ।

झण्डै एक दशकदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध सुनिताको यसअघि ए बतास बोलको गीत बजारमा आएको थियो । यसका साथै सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा कहिले हार कहिले जीत बोलको गीतबाट साङ्गीतिक कार्य सुरु गर्नुभएकी सुनिताको सुनमाला एल्बम दोस्रो सहकार्य हो ।

खोटाङमा जन्मेकी सुनिता, करिव चारवर्ष ललित क्याम्पसबाट सङ्गीत सिकेर रेडियो नेपालबाट हुने स्वर परीक्षा उतीर्ण गरेपछि यस पेशामा सक्रियता बढेको बताउँछन् । ४ दिदीबहिनीमध्ये जेठी छोरी सुनिता, आफ्नो गायन क्षेत्रमा पारिवारिक सहयोगकै कारण पनि अगाडि बढ्न सहज भएको बताउँछन् ।

सुनमाला एल्बमका लागि विगत ५ वर्षदेखि काम गर्दै आएको बताउने सुनिता यसमा मायाप्रेम, देशप्रेमका साथै प्राकृतिक सौन्दर्यलाई समेत समेटेर गीत तयार गरिएकोले पनि दर्शक तथा श्रोताको लागि सुनकै माला सावित हुनेमा आशा गरिएको दावी गर्नुहुन्छ ।

लोक, आधुनिक, भजन, गरेर करिव दुई दर्जन गीतहरु गाइसकेकी सुनिताको यस एल्वमले श्रोता तथा दर्शकको मन जित्न सक्ने बताउँछन् सङ्गीतकार सुरेश अधिकारी । एल्बममा समावेश गीतहरु म्यूजिक नेपालको एप्मा सुन्न सकिने छ भने शीतल हिमाली बोलको गीतको म्यूजिक भिडियो म्यूजिक नेपालको यु ट्युव च्यानलमा हेर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्