प्रधानमन्त्री ओलीद्वारा बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङमार्ग उद्घाटन

सुर्खेत, वैशाख ३ । प्रधानमन्त्री केपी ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङमार्गको मंगलबार ब्रेक थ्रु गर्ने भएका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका अर्न्तगत चिप्लेमा बिहान ११ बजे हुने कार्यक्रमबीच प्रधानमन्त्री ओलीले नेपालकै पहिलो टनेल बोरिङ मेसिन टीबीएमद्वारा खनिएको सुरूङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसका लागि उनी बिहान साढे ९ बजे सुर्खेत उड्ने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए । चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरूङ निर्धारित समयभन्दा १ वर्षअघि सप्पन्न गरेको आयोजना निर्देशक सन्जीव बरालले बताए ।

आयोजनाबाट भेरीको पानी बबईमा मिसाएर बाँके, बर्दियाको ५१ हजार हेक्टर जमिन सिंचाइ गर्ने र ४६ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र प्रदेश ५ का बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना शुरु भएको हो । सुरुङ खन्ने काम सकिए पनि पूर्वाधारको कामहरु भने बाँकी छ । विद्युत् उत्पादनदेखि सिंचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । सुरूङमार्ग निर्माणसंगै दोस्रो चरणका निर्माणको काम पनि सुरू भएको आयोजना निर्देशक बरालले बताए ।

प्रधानमन्त्री ओलीले सिक्टा सिंचाई आयोजनाको पनि अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । निर्माणको लामो समय भएपनि सिक्टा आयोजनामा बारम्बार समस्या देखिने गरेको छ । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्