कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न अध्यक्ष प्रचण्डको जोड

काठमाडौं, बैशाख ०३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन–२०७६ को‍ राजधानीमा उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमिनमा कफीखेतीको सम्भावना रहेको बताए । पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कफीको माग धेरै रहेको तर नेपालको उत्पादन निकै थोरै रहेको प्रसंग उल्लेख गरे ।

उनले नेपालमा उत्पादन हुने कफीको गुणस्तर राम्रो रहेकाले पनि विदेशमा निर्यात हुने सम्भावना रहेको औँल्याए । उनले कफी उत्पादनको क्षेत्रमा लगानी बढाउन, अनुसन्धान, तालिम तथा विस्तारका लागि राज्यको ध्यान केन्द्रित हुनुपर्ने औँल्याए । सो अवसरमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले विसं १९९५ देखि नेपालमा कफीखेती शुरु भएको बताउँदै कफीलाई विश्वबजारमा पुर्‍याउन गुल्मीलाई सुपर जोनको रूपमा अघि सारी कम्तीमा पाँच हजार युवालाई निःशर्त र निःशुल्क तालीम दिने कार्य शुरु गरिसकेको बताइन् ।

कमेन्ट गर्नुहोस्