विप्लव समूहद्वारा विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन, बझाङमा बम विष्फाेट

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दकाे पूर्वसन्ध्यामा ठाउँठाउँमा मशाल जुलुससहित प्रदर्शन गरिएको छ ।

नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको आह्वान गरेको छ ।

काठमाडौं उपत्यकासिहत झापा, कपिलवस्तु,कर्णालिका जिल्लाहरु, सुदूरपश्चिमका कैलाली, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, कञ्चनपुरका विभिन्न स्थानहरुमा मशाल जुलुस प्रदर्शन भएका छन् । उनीहरुले पार्टीमाथिको प्रतिबन्ध फिर्ता गर, धरपकड र गिरफ्तारी बन्द गर जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

नेकपाका कार्यकर्ताहरुले काठमाडौंमा समेत सरकारविरुद्ध नारा लगाउँदै मशाल जुलुस बालेको भिडियोहरु सामाजिक संजामा पोष्ट गरिएका छन् ।

बझाङको सदरमुकाम चैनपुरमा अहिले समय अगाडि नेकपाका कार्यकर्ताहरुले मशाल बाल्नुको साथै सरकारविरुद्ध नारा लगाएका छन् ।

स्थानीयका अनुसार चैनपुरमै शक्तिशाही बम विस्फोट समेत भएको छ । प्रदर्शन लगत्तै विस्फोटको ठूलो आवाज आएको थियो । विस्फोटका क्षतिबारे कुनै जानकारी आएको छैन । विस्फोटको जिम्मा कसैले लगेको छैन ।

केही दिनअघि मात्र नेकपाका जिल्ला सेक्रेटरी भरत मल्ललाई प्रहरीले गिरफ्तार गरेको थियो ।

यसैबीच भोलिको बन्द सफल पार्न नेकपाले अपील गरेको छ । केन्द्रीय समितिको तर्फबाट एक अपील जारी गरेर नेकपाले पार्टीमाथिको प्रतिबन्ध, पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीसहितका नेताहरुको रिहाई, झुटा मुद्दा खारेज, भ्रष्टाचारी र तस्करीलाई कारवाहीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको बताएको छ ।

कमेन्ट गर्नुहोस्