कुलतमा लागेका पतिले पत्नीलाई मट्टीतेल छर्केर जलाए

काठमाडौं, बैशाख ०९ । धनुषाको शहीदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मला यादवलाई जिउमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् । गएको वैशाख ५ गते दिउँसो घरमा कोही नभएको मौकाछोपी पति मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाका थिए ।

आगोबाट निर्मलकाको शरीरको ७० प्रतिशत भागको छाला जलेर उनी गम्भीर घाइते भएकी छन् । घटनापछि गम्भीर घाइते निर्मलालाई जनकपुर अञ्चल अस्पतलामा भर्ना गरिएको थियो । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ । निर्मलाको १० महिनाअघि मात्र सामाजिक परम्परा अनुसार विवाह भएको थियो । २०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो ।

मुकेश लागुपदार्थ तथा मादक पदार्थ सेवन कुलतका शिकार हुन् । घरमा कोही नभएको मौका छोपी मुकेशले कुटपिट गर्दै निर्मलाको हातखुट्टा बाँधी बाकसमा रहेको कपडाहरु निकालेर जिउमा राखी मट्टीतेल छर्केर आगो लगाएको निर्मलाका दाइ राकेश यादवले बताए । आगो लगाएपछि निर्मला जोडजोडले चिच्याउँदा छरछिमेकहरुले उद्धार गरेको तर त्यतिबेलासम्म निर्मलाको शरीर अधिकांश भाग जलिसकेको राकेशले बताए ।

वैशाख ५ गतेको दिन बिहान मुकेश र निर्मलाबीच झगडा भएको र त्यही झोँकमा निर्मलालाई मट्टीतेल छर्केर आगो लगाइ मार्ने प्रयास गरेको हुन सक्ने स्थानीयहरुको भनाइ छ । घटनापश्चात मुकेश फरार भएका छन् । माइती पक्षले छोरी निर्मलालाई हत्या गर्ने प्रयास भएको भन्दै पति मुकेश गोइत यादव, ससुरा झरी गोइत यादव र सासूमाथि ज्यान मार्ने उद्योगमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । निर्मलाका बुबा कामे भुसकुलियाले जाहेरी दर्ता गराएका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!