भि–स्याट सेवा बिग्रेपछि स्थानीयवासी सम्पर्कविहीन

बझाङ, बैशाख १० । बझाङको साइपाल गाउँपालिकामा फोन गर्ने भि–स्याट सेवा बिग्रेपछि स्थानीयवासी सम्पर्कविहीन बनेका छन् । २०६६ सालमा नेपाल टेलिकम र तत्कालीन काँडा गाविसको लगानीमा जडान गरिएको भि–स्याट सेवा बिग्रिएको हो ।

झण्डै तीन महिना अघिदेखि भि–स्याट सेवा बिग्रिएको भि–स्याट सेवा सञ्चालक गोरखबहादुर बोहराले बताए । मर्मत गर्नका लागि सदरमुकामबाटै प्राविधिक बोलाउनु पर्ने भएकोले प्राविधिकहरु साईपाल गाँउपालिकासम्म जान नमान्दा स्थानीय बासिन्दा सम्पर्कविहीन हुनुपरेको उनको भनाइ छ ।

दूरसञ्चार कार्यलयमा समेत बिग्रिएको भि–स्याट बनाउनका लागि पटक–पटक पुगेको बताउँदै बोहराले सदरमुकाम चैनपुरबाट भि–स्याट भएको ठाँउसम्म पुग्न २–३ दिन लाग्ने बताए । बझाङको हिमाली भेग साइपाल गाँउपालिकाको ५ गाउँका २ हजार भन्दा बढी बासिन्दा अहिले पनि एक कल फोन गर्न एक दिनको पैदल यात्रा गर्न बाध्य छन् ।

बझाङको हिमाली भेग साइपाल गाँउपालिकाको ५ गाउँका २ हजारभन्दा बढी बासिन्दा अहिले पनि एक कल फोन गर्न एक दिनको पैदल यात्रा गर्न बाध्य छन् । धुली, लौडी, न्युना, धलौन गाउँका बासिन्दाहरु अहिले पनि घण्टौँ हिँडेर काँडाको बाझचौकामा रहेको एकमात्र भि–स्याटसम्म पुग्नुपर्छ । ‘घरबाट काँडा जान एक दिन लाग्छ, फोन गर्नुपर्यो भने बिहानै आएर यतै बस्नुपर्छ । भोलिपल्ट मात्र घर फर्किन्छौँ’, धलौनका वसन्त बोहराले भने ।

यहाँका बासिन्दालाई फोनमा कसैसँग कुरा गर्नुर्पयो भने २ दिनको समय छुट्याउनु पर्छ । बोहराले भने– ‘पुरुषहरुभन्दा घर बाहिर हुने महिलालाई झन् गाह्रो हुन्छ । बस्ने खाने समस्या हुन्छ, केटाकेटी गाईबस्तुसमेत अर्काको जिम्मा लाएर आउनुपर्ने बाध्यता रहेको छ ।’

अहिले यहाँका स्थानीय बासिन्दाहरु झण्डै एक दिनको जोखिम र भिरको बाटो भएर अग्ला अग्ला डाँडाहरुमा गएर फोन सम्पर्क गर्ने गरेका छन् । धुलीका स्थानीयले गाउँभन्दा पर एक दिन पैदल हिँडेर नुवामुल डाँडामा फोन गर्न जानुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा प्रेम लामाले बताए ।

यस्तै न्युनाका र काँडाका स्थानीयले खरालीखेत, धलौनका स्थानीय बासिन्दाले नाग्ना डाँडा, बलौडी र जिमाका स्थानीय बासिन्दालहरुले भुस्या र खराली खेतमा नै पुग्नुपर्ने बाध्यता रहेको छ।

साइपाल गाउँपालिकाको धलौन गाउँमा विसं २०६८ सालमा स्मार्ट टेलिकम कम्पनीले ५ वटा भि९स्याट लाइन जोडे पनि एक वर्षपछि सबै लाइन बन्द भएका थिए । धलौन गाउँ पनि बाझचौकाबाट ७ घण्टाको पैदल दूरीमा छ ।

साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले भने अहिले धलौन नजिकै टेलिकमको टावर जडान भैरहेको र अबको केही समयपछि नै सबैले सहज र घरभित्रै बसेर टेलिफोन गर्न सक्ने बताए । भौगोलिक विकटताका कारण पनि काम गर्न निकै समस्या भएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!