निर्मला हत्या प्रकरणः जिल्ला प्रशासनमा २ घण्टा धर्ना

कञ्चनपुर, वैशाख १० । अधिकारकर्मीहरुले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

मंगलबार नागरिक संघर्ष समितिको अगुवाइमा अधिकारकर्मीहरुले जिल्ला प्रशासनको गेटमा २ घण्टा दिएका हुन् । घटना भएको ९ महिना पुगेको दिन धर्नासँगै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

बिहान साढे १० देखि साढे १२ बजेसम्म अधिकारकर्मी र पीडित परिवारले धर्ना दिएका हुन् । धर्नामा निर्मलाका बुवा यज्ञराज र कान्छी आमा लक्ष्मी पनि सहभागी थिए । घटना भएको लामो समयसम्म पनि अपराधी पत्ता नलाग्दा पीडित परिवार मात्रै नभई कञ्चनपुरवासीले समेत न्याय अनुभुति गर्न नपाएको ज्ञापन पत्र बुझाउँदै नागरिक संघर्ष समितिका सदस्य नर बहादुर साउदले बताए । उनले ९ महिनासम्म पनि अपराधी पत्ता नलाग्नु दुखद भएको बताए ।

प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले घटनाको अनुसन्धान तीब्र रुपमा चलिरहेको बताए । विभिन्न टोलीले निरन्तर अनुसन्धान गरिरहेकाले छिट्टै अपराधी पत्ता लाग्ने विश्वास व्यक्त गरे । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!