वार्षिक ३० लाख रुपैयाँसम्मको सुपारी उत्पादन हुँदै

सुनसरी, वैशाख १२ । सुनसरीको धरान–६ स्थित पानबारी क्षेत्र सुपारी उत्पादन हुने उर्वर स्थल हुन थालेको छ । हरिया सागसब्जी फलफूल तरकारी उत्पादन मात्र गर्दै आएको पानबारी, ठिंगाबारी क्षेत्रमा पछिल्लो समयमा वार्षिक ३० लाख रुपैयाँसम्मको सुपारी उत्पादन हुँदै आएको छ ।

सुपारीको उर्वर क्षेत्र झापाको बुधशान्ति गाउँपालिकास्थित गढीगाउँबाट केही वर्षअघि घुम्दै आएका बलभद्र गड्तौलाले धरानको पूर्व दक्षिणमा पर्ने पानबारी, ठिंगाबारीमा शौखले दुई चार बोट सुपारी रोपेपनि फलेका ती सुपारीहरु बोटैमा खेर गएको देखेपछि व्यावसायिक उत्पादनका लागि प्रेरित गरेका थिए । सुपारी खेतीका लागि स्थान पहिचान भएपछि उत्पादन भएको सुपारी किनेर स्थानीय स्तरमै प्रशोधन केन्द्र स्थापना गरेकाले व्यावसायिक रुप लिन थालेको हो ।

शान्तिनगरको भू–बनावट र पानबारीको भू–बनावट उस्तै रहेकाले स्थानीयलाई सुपारी खेती गर्न प्रेरित गर्दै उन्नतजातको सुपारीको बीउ पनि उपलब्ध गराएको गड्तौलाले बताए । उनले भने, ‘अलैंची, चिराइतो जस्तै यो पनि नगदेबाली हो । रोपेको केही वर्षदेखि फल्न थाल्छ । खासै मिहिनेत गर्नु पर्दैन तर प्रशोधन गर्नका लागि भने बढी मेहेनत चाहिन्छ ।’ पानबारीमा करीब ३ सय घरबाट वार्षिक पाँच हजारदेखि एक लाख रुपैयाँसम्मको सुपारी उत्पादन हुन थालेपछि उनले स्कूल डाँडा नजिकै दुई कठ्ठा जमिन भाडामा लिएर सुपारी प्रशोधन केन्द्र नै स्थापना गरेका छन् । सो प्रशोधन केन्द्रमा सुनसरीका प्रकासपुर, बराहक्षेत्र, चतरा, पथरी लगायतका क्षेत्रबाट पनि सुपारी संकलन गरेर ल्याउने गरेको उनले बताए ।

प्रशोधन केन्द्रमा संकलन गरिएका सुपारीलाई पहिले उसिन्ने, त्यसका बोक्राबाट छुट्याएर दाना निकाल्ने गरेपछि कच्चा पदार्थको रुपमा तयार हुन्छ । उनले प्रशोधन केन्द्रमै केही सुपारीलाई वर्गीकरण गर्ने गरेका छन् । एक नम्बरी सुपारीलाई सिके भन्छन् । त्यसको मूल्य पनि उच्च हुने र रजनीगन्धा बनाउन प्रयोग हुने गरेको उनले बताए । दुई नम्बरी सुपारीबाट मधु, पराग बन्ने बताए । उनले भने, ‘सुपारी धेरै भयो भने पनि सुरक्षित रुपमा राखियो भने खेर जाँदैन । गुवापानका लागि पनि प्रयोग हुन्छ ।’ पानबारीस्थित उनको प्रशोधन केन्द्रमा टिप्ने, उसिन्ने, बोक्रा फाला गर्नेहरु ३० जनाले रोजगारी पाएका छन् ।

सुपारी व्यवसाय गर्ने भएपनि उनले सोझै भारतीय बजारमा भने पु¥याउन नसकेको बताए । उनले भने, ‘मेरो काम स्थानीय सुपारी किसानलाई प्रेरित गर्नु, उनीहरुले उत्पादन गरेको सुपारी संकलन गर्नु, प्रशोधन गर्नु र तयार भएको कच्चा पदार्थको रुपमा निस्केको सुपारीलाई काँकडभिट्टामा रहेको संकलन केन्द्रमा पुर्याउनेसम्म मात्र छ । त्यसपछि बंगाल र भारतका सुपारी व्यापारीहरु आएर लैजाने गरेका छन् ।’ उनका अनुससार झापाको उत्तरी क्षेत्र शान्तिनगर, हडिया बुधबारेलाई उर्वर मानिन्छ ।

झापाको शान्तिनगरमा तीन दशक अघिदेखि परम्परागत रुपमा घर आंगन सजाउनका लागि फूलसँगै करेसाबारीमा सुपारी रोप्ने गरेका थिए । अहिले मुलुकमै सबैभन्दा बढी सुपारी उत्पादन हुने व्यावसायिक क्षेत्रको रुपमा चर्चित भएकाले पानबारी पनि विस्तारै सुपारी खेतीका लागि चिनिन थालेको उनले बताए । गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि साविक पाँचकन्या पानबारी, ठिंगाबारीका सुपारी किसानले मूल्य पाउन थालेका छन् ।

सुपारी खेती गर्ने किसानले पनि पाँच हजार रुपैयाँ देखि १ लाख सम्म आम्दानी गर्ने गरेका छन् । उनले झापाको शान्तिनगरस्थित गढीगाउँमा पनि २५ लाख रुपैयाँ लगानीमा अर्काको जमिन लिजमा लिएर लक्ष्मी सुपारी प्रशोधन केन्द्र स्थापना गरेका छन् । पानबारीमा सुपारी खेतीबाट आम्दानी गर्र्दै आएका सुपारी कृषक कृष्ण प्रसाद गौतम र जगतबहादुर कट्टवाले सुपारी खेती लगायत फलफूल उत्पादनको निम्ति पाँचकन्याको माटो उर्वर भएको बताए । गौतमले भने, ‘पछिल्लो समय सुपारी खेतीमा कृषकहरु व्यवसायिक रुपमा आकर्षण वढ्न थालेको छ ।’ उनले करीब १० कठ्ठामा सुपारी खेती गरेका छन् ।

सुपारीको बोटसँगै ल्वाङ, मरिज, पानको बिरुवा पनि रोपेर अतिरिक्त आम्दानी गर्न सकिन्छ । पानबारीमा ‘सुपारी वा’ को नामले चिनिएका गड्तौलाले भने, ‘सुपारीको व्यावसायिक खेतीका लागि सरकारले पनि स्पष्ट नीति बनाएर चासो दिए किसानहरु बढी लाभान्वित हुन सक्छन् ।’ कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्