मन्त्री पण्डित र लोकसेवाका सचिवबीच वैशाखभित्रै विज्ञापन गर्ने विषयमा छलफल

काठमाडौ, वैशाख १३ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले आफ्नो भर्ना प्रक्रियालाई सुचारु गर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगलाई फास्ट ट्र्याकबाट भर्ना प्रक्रिया थाल्न आग्रह गरिएको जानकारी दिए ।

मन्त्री पण्डित र लोकसेवाका सचिव महेन्द्र गुरागाईले वैशाख भित्रैबाट विज्ञापन गर्ने विषयमा छलफल गरेका छन् । २० हजार कर्मचारीका लागि किस्ता किस्तामा विज्ञापन हुने छ।

मन्त्री पण्डितले लोकसेवाले छिट्टै विभिन्न पदमा भर्ना प्रक्रिया थाल्ने भएकाले ढुक्क भएर लोकसेवाको परीक्षा तयारी गर्न सम्वन्धित सबै पक्षमा आग्रह गरेका छन् । कर्मचारी समायोजनका कारण गत कात्तिकदेखि सुरु हुनुपर्ने लोकसेवाका विभिन्न परीक्षा अवरुद्ध हुँदै आएको थियो । मन्त्री पण्डितले समायोजन प्रक्रिया सम्पन्न भइसकेकाले लोकसेवाको भर्ना प्रक्रिया सुरु हुने स्पष्ट पारेका हुन् ।

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईं भन्छन्– तयारी अवस्थामा छौं, माग आउनासाथ भर्ना खुलाउँछौं । हामी त मंसिरदेखि नै तयारी अवस्थामा छौं, सरकारबाट विभिन्न रिक्त पदमा पूर्तिका लागि माग आउनासाथ आयोगले भर्ना प्रक्रिया सुचारु गर्छ ।

सम्भवतः वैशाखको अन्तिम सातादेखि नै माग थालिने छ । विभिन्न कारणले अवरुद्ध भएका लोकसेवाका परीक्षा अब सुचारु हुने अवस्था देखिएको छ, तयारी थाल्दा हुन्छ ।

कमेन्ट गर्नुहोस्