प्लेस्टोरका एप्लिकेसनले सुरक्षा खतरा, गुगलको आकस्मिक कदम

तपाईं हामीमध्ये धेरैले एण्ड्रोइड अपरेटिङ्ग सिस्टम भएका स्मार्ट फोन प्रयोग गर्ने गर्छौं । मूल्यमा लगभग सबैको गोजीले भ्याउने र विविधतायुक्त फिचरहरूले भरिएका हुनाले एण्ड्रोइड अपरेटिङ्ग सिस्टमयुक्त मोबाइल फोनहरूको लोकप्रियता दिनानुदिन बढ्दै गैरहेको छ ।

एण्ड्रोइड अपरेटिङ्ग सिस्टमको निर्माता गुगल हो । गुगलले एण्ड्रोइड प्रयोगकर्ताहरूलाई गुगल प्लेस्टोरको सेवा प्रदान गरेको छ जहाँबाट प्रयोगकर्ताहरूले आफूलाई मन परेको एप्लिकेसन डाउनलोड गर्न सक्छन् । यस्ता एप्लिकेसनले प्रयोगकर्ताको मोबाइल फोन प्रयोगको अनुभवलाई बदलिदिने गर्छ ।

तर यस्ता एप्लिकेसनहरूका सबै कामहरूप्रति गुगल भने जिम्मेवार हुँदैन । त्यसैले कुनै पनि एप्लिकेसन इन्स्टल गर्दा प्रयोगकर्ताले केही नियम तथा सर्त पालना गर्न सहमति जनाउनु पर्ने हुन्छ ।

सामान्यतया हामी कुनै पनि एप्लिकेसन इन्स्टल गर्ने क्रममा यस्ता सर्तहरू बिना पढेरै त्यसप्रति स्वीकृति जनाउने गर्दछौं । तर कतिपय अवस्थामा त्यस्ता एप्लिकेसनले हाम्रो फोनमा सुरक्षासम्बन्धी जोखिम बढाउन सक्छन् ।

कहिलेकाँही भने गुगलले आफैं प्लेस्टोरबाट केही एप्लिकेसन हटाउने गर्दछ । यसो गर्नुको मुख्य कारण या त ती एप्लिकेसनहरूको माध्यमबाट आपत्तिजनक मानिएका सूचना तथा वेबसाइटहरूमा पहुँच हुनु हुने गर्छ या तिनले बढाउने समग्र सुरक्षा जोखिम ।

हाल मात्रै गुगलले आफ्नो प्ले स्टोरबाट सयभन्दा बढी चिनियाँ एप्लिकेशन हटाउने निर्णय गरेको छ ।

गुगलले एण्ड्रोइड फोनका लागि एप्लिकेशन निर्माण गर्ने चिनियाँ उत्पादककर्ता डिओ ग्लोबलका एप्लिकेशन प्ले स्टोरबाट हटाइने भएको हो ।

विश्वकै सबैभन्दा लोकप्रिय सर्च इन्जिन तथा एण्ड्रोइड को निर्माता गुगलले साइबर आक्रमणको त्रासका कारण यस्तो उपाय अपनाउन लागेको बताएको छ ।

उसले यसअघि डिओ ग्लोबलकै ४६ वटा एप्लिकेशन हटाइसकेको जनाएको छ । गुगलका अनुसार चिनियाँ उत्पादककर्ताका केही एप्लिकेशनबाट शंकास्पद गतिविधि भएको आशंका गर्ने गरेको छ ।

गुगलले यसले साइबर आक्रमणको त्रास फैलाएको भन्दै उक्त कदम चालेको बताएको छ ।

एक महिनामा २ करोड ५० लाखले डिओ ग्लोबलको एप्लिकेशन प्रयोग गर्ने जनाइएको छ । जसबाट त्यस कम्पनीले करोडौं नाफा गर्दै आएका छन् ।

हुन त धेरैले गुगलको यस कदमलाई हाल अमेरिका र चीनबीच जारी तनावसँग समेत जोड्ने गरेका छन् तर यसले हामीलाई एउटा संदेश त दिन्छ नै- कुनै पनि एप्लिकेसनको बारेमा राम्ररी बुझेर मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!