टिप्पणीः दोश्रो इनिङमा चौका छक्का हान्न सक्लान त बाबुरामले ?

अस्तित्वको संकटमा रहेका दुबै दलबीच एकता हुनु स्वागतयोग्य

एभरेष्ट टिप्पणी, काठमाडौं । नेकपा (मसाल)बाट राजनीतिक यात्रा शुरु गरेका बाबुराम भट्टराई राजनीतिक जीवनको उत्तराद्र्धमा संघीय समाजवादी फोरमको राजनीतिसँग एकताको बिन्दुमा पुगेका छन् ।

कुनै बेला ‘रेमण्ड लोट्टा’को माओवादी राजनीतिक अर्थशास्त्रलाई मन पराउने बाबुराम भट्टराईका लागि अहिले माक्र्सवाद असान्दर्भिक बनेको छ । यद्यपी उनीभित्र माक्र्सवादप्रतिको लामो लगावले उनले खुलेरै माक्र्सवादी सिद्दान्तहरुको भने प्रतिवाद गर्न सकेका छैनन् ।

वैचारिकरुपमा स्पष्ट कार्यदिशा नभएका बाबुरामको शक्ति क्षयीकरणको सिलसिला नेपाली शेयर बजार जस्तै ओरालो लाग्न थालेपछि ‘अस्तित्वको रक्षा’का लागि समेत उनी सामु ध्रुवीकरण अनिवार्य बनेको थियो ।

यो राजनीतिक शक्ति आर्जनका लागि नै लडिरहेको अर्को शक्ति संघीय समाजवादी फोरमका लागि पनि नयाँ शक्ति या अन्य यस्तै प्रकृतिको शक्तिसँग एकता अनिवार्य शर्त बन्न पुगेको थियो । त्यसैले जमिनी धरातल जे जस्तो भएपनि अस्तित्वको धरातलले उनीहरुलाई एक ठाउँमा पुर्याएको छ ।

नेपाली राजनीतिमा अहिले नेकपा सबैभन्दा बलियो दल बनेर उभिएको छ । परम्परागतरुपमा एउटा विशेष वर्गको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस शक्तिमा कमजोर भएपनि अस्तित्वका दृष्टिकोणले प्रभावी अवस्थामा नै छ । अंकगणितमा भने अहिले कांग्रेस दोश्रो शक्ति हो ।

नेकपा र नेपाली कांग्रेपछि नेपालमा वैकल्पिक तेश्रो धार अहिलेसम्म स्थायीरुपमा निर्माण हुन सकेको छैन । उग्र क्रान्तिकारी कोणबाट विप्लवले तेश्रो शक्तिको कोशिस गरेपनि त्यसको भविष्य के हुने कुरा भविष्यकै गर्भमा छ । यद्यपी विप्लवको पछिल्लो विकास हेर्दा कुनै बेला यो समूह तेश्रो या दोश्रो शक्ति नबन्ला भन्न सकिन्न । तेश्रो शक्ति बन्न विवेकशील, साझालगायतका शक्तिहरु समेत दौडमा देखिन्छन नै । राजपाले क्षेत्रिय मुद्दालाई नै केन्द्रमा राखेको कारण राष्ट्रियरुपमा तेश्रो शक्ति बन्ने अवस्था उसको देखिँदैन ।

यो स्थितिमा उपेन्द्र यादव र पछि अशोक राई जोडिएको संघीय समाजवादी फोरम र अहिले नयाँ शक्तिसँग यसको मिलनले बलियो तेश्रो शक्ति बन्न सक्ने आँकलन बाबुरामको हुन सक्छ । नेपाली समाजमा पहिलो र दोश्रो शक्तिले संख्यात्मकरुपमा जे जति सीट निर्वाचन जितेको भएपनि राजनीतिक मनोविज्ञान हेर्दा जनतामाझ ‘सन्तुष्ट’ हुने परिकार दुबैले पस्किन सकेका छैनन । यसबाट फाइदा लिँदै वैकल्पिक धारको बाबुरामको पुरानो नारा कार्यान्वयन गर्न यो एकताले लाभ पुर्याउने नै देखिन्छ ।

तत्काल अस्तित्वको आधारमा हुन लागेको देखिने एकताका सैद्धान्तिक आधार के हुने भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन । नयाँ शक्तिले यसअघि कम्तिमा पाँच ‘स’ को मोटो अवधारणा सार्वजनिक गरेर आफ्नो कार्यदिशा सार्वजनिक गरेको थियो । यद्धपी ती स हरु प्राप्त गर्ने कार्यनीतिक चरणका बारेमा भने विप्लवको एकीकृत जनक्रान्ति झैं अलमल नै रहने अवस्था कायमै थियो । अब संघीय समाजवादी फोरमसँग एकतापछि बाबुरामको नयाँ कार्यदिशा, रणनीति र उनीहरुले खोजेको समाज प्राप्त गर्ने कार्यनीतिक तहहरु के हुनेछन भन्ने कुरा मुख्यरुपमा हेरेर उनीहरुको भविष्यका बारेमा आँकलन गर्न सकिने छ ।

मोटामोटीरुपमा हेर्दा संसदीय व्यवस्था नै अन्तिम विकल्प भन्नेमा दुबै शक्ति सहमत छन् । यसका अर्थ सुधारिएको लोकतन्त्र या संसदवादको नयाँ स्वरुपको कार्यदिशा उनीहरुको रहनेमा शंका देखिन्न । लोककल्याणकारी राज्यको निर्माणको नारा यता नेकपाले पनि दिएको छ । नेकपाभित्र पनि पूर्व एमालेभित्रको बलियो पक्षले बहुदलीय प्रतिष्पर्धामा आधारित संसदवाद नै समाजवादमा पुग्ने आधार बताउँदै आएको छ ।

यो स्थितिमा पहिलो शक्ति बनेको नेकपा र तेश्रो शक्ति बन्ने धुनमा लागेको यो नयाँ बन्ने पार्टीको राजनीतिमा खासै भिन्नता हुने भने देखिन्न । यो भविष्यमा नेकपा र नयाँ बन्ने पार्टीबीच कुनै बेला ध्रवीकरणको हावा चल्ने वातावरण भए एकताका लागि पनि सहजता निम्त्याउने अवस्था बन्न सक्छ नै ।

बाबुरामले अहिले एक्लै बस्नुभन्दा केही कदम पछाडि हटेर पनि एकतामा जानु स्वागतयोग्य छ । नेपाली राजनीतिमा तेश्रो धारको आवश्यकता नभएको होइन, तर त्यो सही क्रान्तिकारी जनउत्तरदायी सिद्धान्तमा आधारित हुनपर्ने अहिलेको माग हो । राष्ट्रियता कमजोर परेको, जनजीविका विषयहरु प्राथमिकतामा नपरेको, ठेकेदार र पूँजिपति उन्मुख अर्थतन्त्रको विकास हुँदै गएको अवस्थामा जनताका मुद्दाहरुको राजनीति गर्ने शक्तिको पर्खाईमा नेपाली जनता नभएका होइनन । त्यही होला भनेर नेकपालाई बहुमतको सरकार बनाउने अवसर समेत दिएका हुन नेपाली जनताले । भोलीका दिनमा नेकपाले सरकार र पार्टीमार्फत त्यो पुरा गर्न सकेनन भने जनताका अगाडि नयाँ राजनीतिक विकल्प अनिवार्य शर्त नै हुने देखिन्छ ।

माओवादीबाट यात्रा समाप्त गरेर नयाँ शक्ति टीमबाट नयाँ पारी खेलेका बाबुरामको पहिलो पारी त्यति सन्तोषजनक रहेन । उनले रन बनाउन खोजे । तर उनका टीमका खास खेलाडीहरु एकपछि अर्को गर्दै आउट हुँदै गरे । बाबुरामले निकै प्रयत्न गरे जनतामाझ लोकप्रिय बन्ने तर सकेनन । देश दौडाहा गर्दा हजारौं जनतामाझ आफ्नो विचार राखे । तर त्यसले संगठन विस्तारमा खासै अर्थ राखेन । अहिले उनी संघीय समाजवादी फोरमसँग एकता गर्दै दोश्रो पारी खेल्न तम्सेका छन् । यो पारीमा उनले कति रन बनाउलान ? त्यो भविष्यको गर्भमा छ ।

बाबुरामहरुले आफ्नो पार्टीको नाम समाजवाद राखेका छन् । समाजवाद अहिले आएर एउटा थेगो बनेको छ । नेपाली कांग्रेसदेखि विप्लवसम्मले समाजवाद नै नारा दिएका छन् । तर त्यो समाजवाद कस्तो हो, त्यसले कसको पक्षमा काम गर्छ, त्यो प्राप्त गर्दा वर्ग र वर्ग संघर्षको अवस्था के हुन्छ ? राष्ट्रिय पूँजिको विकासका लागि विश्व पूँजिवादसँग त्यसले कस्तो सम्बन्ध राख्छ ? त्यसको अर्थनीति के हुन्छ र त्यसका लागि निर्माण हुने पार्टीको संरचना, संगठन, कार्यशैली, कार्यदिशा र रणनीति के रहन्छ भन्ने कुरा स्पष्ट नहुँदासम्म नयाँ गठन भएको पार्टी वैकल्पिक शक्ति बन्न सक्ला या नसक्ला भन्न सकिन्न ।

के बाबुरामहरुले आफूलाई त्यहाँ पुर्याउन सक्लान ? क्रान्तिकारी र जनताप्रति उत्तरदायी, राष्ट्रीयताको पक्षधर, राष्ट्रिय स्वाधिनताका पक्षमा राजनीति गर्न सक्लान ? उनीहरुको एकताले नेपाली समाजको आमूल रुपान्तरण गर्ने दिशा समात्न सक्ला ? यी कुराहरु भविष्यले छिनोफानो गर्नेछ । अहिलेका लागि बाबुराम र उपेन्द्र यादव नेतृत्वका दुई पार्टीको अस्तित्व रक्षाका लागि समेत यो एकता स्वागतयोग्य नै देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!