पाएन अर्गानिक तरकारीले बजार

चितवन, वैशाख २४ । सहकारीमा आबद्ध चितवनका किसानहरुले उत्पादन गरेको अर्गानिक तरकारीले बजार पाउन सकेको छैन ।

विषादीरहित तरकारीले बजार नपाउँदा उत्पादन भएको ताजा तरकारी समेत किसानहरुले कोल्ड स्टोरमा राख्न बाध्य भएका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १५ फूलबारीमा अर्गानिक पद्धतिमा तरकारी उत्पादन भइरहेको छ । किसानहरुले सानो क्षेत्रफलमा अर्गानिक उत्पादन गर्दै आएका छन् भने हंस बहुउद्धेश्यीय सहकारी संस्थाले समेत करिब साढे दुई बिघा क्षेत्रफलमा अर्गानिक तरकारी उत्पादन गर्दै आएको छ । विषादी प्रयोग नगरी उत्पादन गरिएको अर्गानिक तरकारीको बजारीकरणमा समस्या भएको किसानको गुनासो छ ।

‘किसानले धेरै मिहेनत गरेर अर्गानिक तरकारी उत्पादन गर्दै आएका छन्’ अर्गानिक तरकारी उत्पादन गर्दै आएका किसान चन्द्रप्रसाद अधिकारीले भने– ‘तर हामीले उत्पादन गरेको अर्गानिक तरकारी बिषादी प्रयोग गरेर उत्पादन भएको तरकारी भन्दा पनि सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता छ ।’ अर्गानिक तरकारीले बजार नपाउँदा आफूहरुलाई समस्या परेको अधिकारीले बताए । विषादी प्रयोग गरेर उत्पादन गरिने तरकारीको तुलनामा अर्गानिक तरकारीमा धेरै गोडमेल तथा स्याहार गर्नुपर्ने भएपनि उत्पादित वस्तुले भने बजार पाउनै मुस्किल हुने अधिकारीको भनाइ छ ।

भरतपुरको श्रीपुरमा हंस प्राङ्गारिक कृषि फार्म तथा अनुसन्धान केन्द्रले गाजर, चुकन्दर, लसुन, प्याज, जिरीको सागलगायतका तरकारीहरु उत्पादन गरेको छ । यस पटकको सिजनमा किसानहरुले दुई टन गाजर बिक्री गरेको भएपनि २१ टन गाजर भने कोल्ड स्टोरमा राखेका छन् । अझै १५ टन जति गाजर खन्नका लागि बाँकी रहेको अधिकारीले बताए ।

हंश बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले खानपानका कारण किसानहरु दिनप्रतिदिन क्यान्सर जस्तो भयानक रोगको शिकार बन्दै गएका कारण स्वास्थ्य चेतना फैलाउनका लागि अर्गानिक खेतीतर्फ जोड दिइएको बताए । साढे दुई बिघा जग्गा वर्षेनि एक लाख रुपैयाँ भाडा बुझाउने गरी पाँच वर्षका लागि भाडामा लिएर एक बाली धान उत्पादन गरिसकेपछि अहिले तरकारी लगाएको चुकेको भनाइ छ । ‘चितवनमा ६ सय भन्दा बढी सहकारी संस्थाहरु छन्, हामीले अढाई बिघाबाट तरकारी उत्पादन सुरु गरेका छौँ’ चुकेले भने– ‘हामीले १० बिघामा तरकारी खेती गर्ने सोंच बनाएकोमा अरु ६ सय वटा सहकारीले पनि कृषिमा अर्गानिक उत्पादन गर्न सक्यो भने जनतामा स्वास्थ्यको म्यासेज जान्छ ।’

अर्गानिक तरकारीको प्रयोगले क्यान्सर लगायतका अन्य रोगबाट बँच्न सकिने हुनाले अर्गानिक तरकारी खेतीलाई स्लोगनको रुपमा अगाडि सारिएको चुकेले बताए । सबैले अर्गानिक तरकारी खेती अङ्गीकार गरुन् भन्ने उद्देश्यले आफूहरुले जग्गा भाडामा लिएरै भए पनि खेतीको सुरुआत गरेको चुकेको भनाइ छ । सो ठाउँमा वार र अनदी गरी करिब ६० क्विन्टल धान आफूहरुले उत्पादन गरेको चुकेले बताए ।
अर्गानिक उत्पादनले नागरिकको स्वास्थ्यसँगै आर्थिक समृद्धिको पाटोलाई समेत मजबुत बनाउने भएकाले हंसले अर्गानिक खेतीतर्फ ध्यान दिएको चुकेको भनाइ छ ।

अर्गानिक खेती गर्दा मिहेनत र लगानी धेरै गर्नुपर्ने भएपनि त्यसबाट आउने प्रतिफल न्यून भएकाले किसानहरु चिन्तित छन् । अर्गानिक उत्पादन उपभोग र प्रवद्र्धन गर्नका लागि सरकारले आवश्यक नीति ल्याउनुपर्ने किसानहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्