सिन्धुलीबाट धनगढी पुगेर निर्देशक दीवाकरले भरे दीपिकाको सिउँदो

काठमाडौं, वैशाख २५ । निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ हिन्दू परम्पराअनुसार वैवाहिक जीवनमा बाँधिएका छन् ।

मंगलबार सिन्धुलीबाट धनगढी पुगेर निर्देशक भट्टराईले दीपिकाको सिउँदो भरेका हुन् । हुन त, यो जोडीले केही वर्षअगाडि नै कागजी विवाह गरिसकेका थिए । तर, यसको जानकारी दुई पक्षका परिवारबाहेक कसैलाई थाहा थिएन ।

विवाहको मण्डपबाट दीपिका र दीवाकरको एक तस्वीर बाहिर आएको छ । तस्वीरमा दुईले एकअर्काको हात समातेका छन् । दुलहा–दुलहीको पहिरनमा दुवैलाई निकै सुन्दर देखिएको छ । दुवै निकै खुशी पनि देखिएका छन्। विवाह समारोहमा दुई पक्षका आफन्तहरुको बाक्लो उपस्थिति थियो । फिल्मकर्मीहरु भने खासै उपस्थिति थिएनन् ।

केही दिनमा यो जोडीले राजधानीमा ग्रान्ड रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ । चलचित्र ‘ऐश्वर्य’ को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । फिल्मका निर्देशक थिए दीवाकर । यो चलचित्र दीपिकाको डेब्यू होे । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले अदालतमा गएर कागजी विवाह गरेका थिए भने गएको फागुनमा दुईले इन्गेजमेन्ट गरेका थिए ।

दीवाकर लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हुन् । ‘ऐश्वर्य’ सँगै उनले ‘स्टुपिड मन’, ‘क्याप्टेन’ चलचित्र निर्देशन गरिसकेका छन् । उनी चाँडै एक लभस्टोरी फिल्ममा आफ्नी श्रीमतीको जोडी अभिनेता आर्यन सिग्देलसँँग बाँध्दै छन् । दीपिका अहिले फिल्म ‘हेल्लो जिन्दगी’मा व्यस्त छिन् । उनले ‘छक्का पञ्जा ३’ मा पनि काम गरेकी छन् ।

कमेन्ट गर्नुहोस्