पहाड–मधेश सद्भावको ‘सेतुःमिताआबकोनाचलब’ मण्डला थिएटरमा मञ्चन

काठमाडौं, वैशाख ३० । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिताआबकोनाचलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

कलाकार राम भजनकामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ ।

गत वैशाख २० गतेदेखि आगामी जेठ ५ गतेसम्म नाटक मञ्चन हुने निदेशक कामतले बताएका छन् । ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्दले ज्यादै नकारात्मक प्रभाव पार्यो’, कामत भन्छन्, ‘जसका कारण तराईमा बस्ने पहाडी मूलका र पहाडमा बस्ने मधेशी मूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नुपर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकता पुनःकायम भयो, यही विषयलाई नाटक मार्फत प्रस्तुत गरिएको छ ।’

साथै ‘मिताआबकोनाचलब’ले मधेस आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए । मिताआबकोनाचलब अर्थात् मितज्यू अब कसरी जाने? नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवनत शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तर आञ्चलिक विशेषता प्रदान गरेको छ।

नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ । निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्यमिश्रा, अमृताश्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन्।

कमेन्ट गर्नुहोस्