अण्डाको मूल्य बढ्यो

चितवन, वैशाख ३० । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट २५० रुपैयाँ तथा मध्यमखालको अण्डा प्रतिक्रेट १८० रुपैयाँ तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट २०० र मध्यमको १३० रहेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । ‘उत्पादन लागत नोक्सानीमा थियो, उनले भने, ‘लागत मूल्यअनुसार अझै कम मूल्य हो ।’ उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।

वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य २९० बाट घटाएर २०० कायम गरिएको थियो । बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट २०० मूल्य तोकेको जनाएको थियो । किसानको उत्पादन लागत मूल्य प्रतिगोटा १० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट ३६० सम्म पुगेको थियो ।

एकसाताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए । नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्ट्री क्षेत्रमा ८० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ ।

कमेन्ट गर्नुहोस्