काम लागेन इमामको १५१ रन, इंग्ल्याण्ड ६ विकेटले विजयी

काठमाडौं, जेठ १ । इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा पनि पाकिस्तान पराजित भएको छ । मंगलबार राति भएको खेलमा पाकिस्तान घरेलु टिम इंग्ल्याण्डसँग ६ विकेटले पराजित भएको हो । पाकिस्तानले दिएको ३५९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३१ बल अगावै अर्थात् ४४.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

उसका लागि जोनि बेयरिस्टोले शतक प्रहार गरे । उनले १५ चौका ५ छक्काको मद्दतमा ९३  बलमा १२८ रन बनाए । यस्तै, जसन रोयले ७६, जो रुटले ४३, बेन स्टोक्सले ३७, मोइन अलिले ४६ र कप्तान इयोन मोगर्नले अविजीत १७ रनको योगदान दिए ।  बलिङमा पाकिस्तानका जुनैद खान, इमाद वसिम र फहिम अश्रफले एक–एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५८ रन बनायो । 


उसका लागि ओपनर इमाम उल हकले शानदार प्रदर्शन गरे । उनले ११ चौका र १ छक्काको मद्दतमा १३१ बलमा १५१ रन बनायो । यस्तै, आशिफ अलिले ३ छक्का र २ चौकाको सहयोगमा ४३ बलमा ५२, हरिस सोहेलले ४१, कप्तान सर्फराज अहमदले २७, इमाद वसिमले २२, फहिम अश्रफले १३ र हसन अलिले नट आउट १८ रनको योगदान दिए ।

बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले १० ओभरमा ६७ रन दिएर ४ विकेट लिए । यस्तै, टम करनले २, लैम प्लेङकट र डेभिड विल्लीले एक–एक विकेट हात पारे । यो हरासँगै सिरिजमा पाकिस्तान २–० ले पछि परेको छ । पहिलो खेलमा इंग्ल्याण्डसँग पाकिस्तान १२ रनले पराजित भएको थियो । दोस्रो खेल भने वर्षाकाकारण रद्द भएको थियो ।  

कमेन्ट गर्नुहोस्