भरतपुर महानगरका थप दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा

चितवन, जेठ १ । भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नं. ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापन सम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा न. ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो ।

औषधालयको आज भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले एक समारोहबीच उद्घाटन गरेकी हुन । देवघाटमा वृद्धवृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने छ भने भरतपुर महानगरपालिका–११ को शहरी स्वास्थ्य क्लिनिकमा नियमित परीक्षणसँगै औषधि वितरण गरिने निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा.झुलाराम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रदेश सरकारले नमूना परियोजनाको रुपमा ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकामा कार्यक्रम शुरु गरेको हो । यसको प्रभावकारिता मूल्याङ्कन गर्दै सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

चितवनमा अब १० वटा आयुर्वेद औषधालय सञ्चालनमा रहने छन् । वर्षेनी आयुर्वेद औषधितर्फ सर्वसाधारणको ध्यान केन्द्रित हुँदै गएसँगै नमूना परियोजनाको रुपमा काम थालिएको हो । दुवै औषधालयको एकैसाथ उद्घाटन गर्दै महानगर उपप्रमुख शाहले हाम्रो गाउँघरकै जडीबुटीलाई प्राथमिकतामा राख्न सकेमा हाम्रो शरीरलाई फाइदा पुग्ने बताइन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आयुर्वेदिक औषधिले शरीरलाई प्रतिकूल असर नगर्ने भएकाले यसको प्रयोग बढाउनु पर्ने बताए । कार्यक्रममा भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष बाबुराम अधिकारी, निर्देशनालयका उपस्वास्थ्य प्रशासक डा रामबहादुर केसीलगायतले बोलेका थिए ।

चितवनमा वार्षिक ३५ हजारले आयुर्वेद सेवा लिने गरेका छन् । यो सेवा लिनेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । मण्डलका अनुसार अहिले सर्ने रोगभन्दा नसर्ने रोगका बिरामीको चाप बढ्न थालेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!