नेकपामा नयाँ कार्यदिशाको बहसः कसको समाजवाद, कस्तो समाजवाद ?

गोकर्ण भट्ट । पार्टी एकता भएको एकवर्ष बितिसक्दा पनि सांगठनिक एकीकरण टुंग्याई नसकेको नेकपाभित्र वैचारिक बहसले स्थान पाएको छ । पार्टीका बिभिन्नि अनौपचारिक कार्यक्रमहरुमा व्यक्त भएका कतिपय अभिव्यक्तिहरुमाथि आमरुपमा बहस शुरु भएको हो ।
अहिले बहसको केन्द्र “समाजवाद” रहेको छ । आम कार्यकर्ता पंक्तिमा एउटा प्रश्न जब्बर ढंगले उठेको छ– कसको समाजवाद ?

नेपालका सबै जसो कम्युनिष्टहरु अबको रणनीतिक कार्यदिशाले समाजवादी क्रान्तिलाई पूर्णता दिनुपर्नेमा सहमत छन् । नेमकिपादेखि विप्लव र वैद्यदेखि नेकपासम्मका सबै कम्युनिष्टहरुले राष्ट्रिय पूँजिको विकास गरी समाजवादी क्रान्तिको आधार तयार गर्दै क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । यद्यपी यो लक्ष्य हासिल गर्ने कार्यनीतिक चरणका बारेमा भने मतभेद कायमै छ । विप्लवहरुले एकीकृत जनक्रान्तिमार्फत समाजवादमा जानुपर्ने कुरा अघि सारेका छन् भने वैद्यहरुले नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै अघि बढनुपर्ने बताएका छन् ।

यता नेकपा भने दुईवटा फरक विचार बोकेको पार्टीहरुको सम्मिश्रण भएकोले यसले अबको कार्यदिशा के भन्ने विषयमा अझै निक्र्यौल गर्न सकेको छैन । नेकपा एमालेले अँगाल्दै आएको बहुदलीय जनवाद र माओवादीको ‘एक्काईसौं शताब्दीको जनवाद’ अर्थात् नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने कार्यदिशाबीचको सम्मिश्रण हुनु अझै बाँकी नै छ । तत्कालिन अवस्थामा नेकपा एमालेभित्रै पनि बहुदलीय जनवादलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बहस शुरु भएको हो । बहुदलीय जनवादले खासगरी वर्ग संघर्ष र बल प्रयोगको सिद्दान्तलाई परित्याग गरेको भन्दै यसको बाह्य बृत्तबाट आलोचना भएको सन्दर्भ र विश्वव्यापीरुपमा उत्पादक शक्तिको नयाँ ढंगले विकास भएको सन्दर्भममा मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादले संसदवादमा मात्रै सीमित राख्ने बहस नेकपाभित्र चलेको थियो ।

यो सन्दर्भमा अहिले नयाँ निर्माण भएको नेकपाभित्र विचारधाराको खोजी अनिवार्य शर्त बन्न पुगेको छ । अबको बहस महाबहस हुने कुरा अध्यक्ष प्रचण्डले समेत बताई सकेका छन् । यद्यपी यो महाबहसको शुरुआत र पद्धती, अहिलेसम्मको संश्लेषण के कसरी हुन्छ ? संसदवाद र सुधारवाद भन्दा पार्टी कसरी माथि उठछ् ? कम्युनिष्ट पार्टीको संगठन, कार्यशैलीको विकास कसरी हुन्छ भन्ने विषय भने अन्यौलमा नै छन् ।

कसको समाजवाद भन्ने प्रश्नको छिनोफानो गरेपछि मात्रै त्यो समाजवाद निर्माणका लागि कस्तो कार्यदिशा र कस्तो संगठन हुनुपर्ने कुरा निर्धारित हुन्छ । समाजवाद भन्ने शब्दमा आफैमा राजधानीका मम पसल जस्तै बन्न पुगेको छ । मम भनेको जता पनि पाइने सुलभ खाद्य बस्तु हो । सामान्यरुपमा मासुको कीमा बनाएर पीठोभित्र हालेर वाष्पमा पकाएको बस्तु नै मम हो । यो जसले पनि पकाउन सक्छ । तर सबै ममको स्वाद एउटै भने हुँदैन । कतै मीठो हुन्छ कतै स्वादिष्ट हुन्न । त्यही कुरा समाजवादको पनि हो । कार्ल माक्र्स अघि पनि समाजवादको व्याख्या चलेको थियो । लेनिनको समयमा पनि लेनिनबाहेकका हरुले पनि समाजवाद भन्ने गर्थे ।

अहिले नेपालमै पनि नेपाली कांग्रेसदेखि अन्य पार्टीहरुले समाजवाद भन्ने गर्छन् । संविधानले नै समाजवादोन्मुख नेपाल भनेर प्रस्तावनामा नै यसलाई उल्लेख गरेको छ । तर त्यो समाजवाद कस्तो समाजवाद हो ? त्यहाँ वर्गहरुको अवस्था के हुन्छ ? राज्यको भूमिका के हुन्छ ? त्यसको अर्थनीति कस्तो हुन्छ ? त्यहाँ उत्पादकत्व र उत्पादनका साधनमाथि स्वामित्वको अवस्था के हुन्छ ? त्यसको अन्तर्राष्ट्रिय नीति के हुन्छ ? त्यहाँ पूँजि निर्माण, पूँजि माथिको स्वामित्व र पूँजि परिचालन कसरी हुन्छ जस्ता प्रश्नले नै ‘कस्तो र कसका लागि समाजवाद ?’ भन्ने प्रश्नको छिनोफानो गर्छ ।

कम्युनिष्टहरुले वर्गविहिन समाजको कल्पना गरेका हुन्छन् । वर्गहरु समयक्रमानुसार परिवर्तित स्वरुपमा देखा पर्छन् । तर पनि वर्गले जुनसुकै स्वरुप ग्रहण गरेपनि त्यहाँ शोषण अवश्य नै हुन्छ । स्वार्थहरुको, हितहरुको टकराव अनिवार्य हुन्छ । यो अवस्थामा वर्गविहिन समाजतर्फ जाने लक्ष्य लिने अवस्थााम त्यसलाई निर्मूलीकरण गर्ने कार्यदिशा के हुन्छ ? वर्ग संघर्षलाई कम्युनिष्टको आधार वर्ग मानिएको मजदूर किसान या नयाँ विकास भएका वर्गको हितमा कसरी रुपान्तरिक गर्न सकिन्छ ? त्यो क्रममा राज्यको भूमिका के रहन्छ ? बल प्रयोगको अवस्था के हुन्छ जस्ता प्रश्नहरुको छिनोफानो गरेपनि मात्रै सही कार्यदिशा निर्माण गर्न सकिने हुन्छ ।

अहिले कम्तिमा पनि कसको समाजवाद भन्ने प्रश्न टडकारो रुपमा उठेको छ । यो निकै सुखद संकेत हो । पार्टी पंक्तिभित्र हामीले संसदवादमा नै रुमल्लिने हो या यो भन्दा अघि बढने हो भन्ने प्रश्न घनिभूतरुपमा बहस हुनु जरुरी छ । यसले पार्टीको संगठनात्मक कार्यशैली, आचरण जस्ता विषयलाई समेत सोझै प्रभावित गर्छ ।

नेपाली सन्दर्भममा बहुदलीय जनवाद र नयाँ जनवादी क्रान्तिको कार्यदिशा र पछि एक्काइसौं शताब्दीको जनवाद एउटा कालखण्डमा निर्माण भएको विचार हुन । यिनीहरुको गम्भीर समीक्षा र इतिहासको संश्लेषण अहिलेको आवश्यकता हो । यो संश्लेषणका लागि पार्टीले छलफलको वैज्ञानिक पद्दती निर्माण गर्नु जरुरी छ । गुट र समूहगत मानसिकता भन्दा माथि उठेर नेपाली समाजको घनिभूत विश्लेषण गर्दै क्रान्तिको कार्यदिशा निर्माण गर्नु जरुरी छ ।

बहुदलीय जनवाद नै अकाट्य हो या माओवाद नै अकाट्य हो भन्ने प्रश्नले नेपाली क्रान्तिका समस्या हल गर्दैन । पहिलो कुरा, क्रान्ति आवश्यक हो कि होइन ? यदि हो भने त्यो क्रान्तिको लक्ष्य के हो ? त्यसका लागि के कस्ता चरण आवश्यक छन ? ती चरणहरुको नेतृत्व गर्न कस्तो कम्युनिष्ट पार्टी निर्माण जरुरी जस्ता प्रश्नमा घोत्लिनु अवश्यक देखिन्छ । जे होस्, अहिले प्रश्न उठन शुरु भएको छ, अब प्रश्नको उत्तर खोज्न नेकपाका नेता तथा कार्यकर्ताहरु अघि बढनु जरुरी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!