दलित जनप्रतिनिधि संजालले बुझायो मेयर–उपमेयरलाई ज्ञापन

धनगढी, जेठ २ । कैलालालीको धनगढी उप–महानगरपालिकामा रहेका दलित जनप्रतिनिधीको संजालले बिहीबार नगरप्रमुख र उप–प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । स्थानीय तहमा टोल तथा वडा तहमा योजना तर्जुमा प्रकृया चलिरहेको बेला धनगढी उप–महानगरपालिकामा दलित जनप्रतिनिधीले संजालमार्फत ज्ञापनपत्र बुझाएका हुन् । उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायका साझा समस्या तथा कार्यक्रम समेटिनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

दलित समुदायको पेशागत आधुनिकिकरण,आधुनिक सिलाईकटाई तालिम, पञ्चेबाजा प्रवद्र्धन तालिम, सुधारिएको आईरन तथा ग्रील संचालन, दलित महिलाका लागि खेलौना बनाउने तालिम, दलित किशोर–किशोरीका लागि सिकर्मी तथा डकर्मी तालिम लगायतका कार्यक्रम समावेश गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रमुख नृपबहादुर वडले जायज मागहरुलाई सम्बोधन गरिने बताए । उनले भने, ‘सामाजिक तथा आर्थिक रुपले बछाडि परेका समुदायलाई मुलप्रवाहीकरणमा ल्याउन हामी लागिपरेका छौं ।’ ज्ञापनपत्र बुझ्दै उप–प्रमुख सुशिला मिश्र भट्टले मागहरु पूरा गर्नका लागि हदैसम्म प्रयास गरिने बताइन् । नीति तथा कार्यक्रम पूर्व ज्ञापनपत्र प्राप्त भएकाले पनि योजनामा राख्न सजिलो हुने उप–प्रमुख भट्टले बताइन् ।

दलित जनप्रतिनिधी संजालका संयोजक राधा विकले दलित समुदायका सवाललाई प्रभावकारी रुपमा उठान गर्नका लागि बिहीबार नै संजाल गठन गरिएको जानकारी दिइन् । गठन भएको पहिलो दिनबाट नै आफ्ना गतिविधीहरु अगाडि बढाएको पनि संयोजक विकले बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!