अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री हकको निधन

एजेन्सी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको ८९ वर्षको उमेरमा निधन भएको छ । हकका परिवारले बिज्ञप्ति निकालेर उनको घरमा मृत्यु भएको जनाएको हो । उनी लेबर पार्टीको तर्फबाट ३ कार्यकालसम्म अष्ट्रेलियाको प्रधानमन्त्री बनेका थिए । हक सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाका प्रधानमन्त्री बनेका थिए । स्वास्थ्य अवस्था राम्रो नभएकोले उनी २ दिनपछि हुनलागेको आमनिर्वाचनको प्रचारप्रसारमा पार्टीको तर्फबाट सहभागी बन्न सकेका थिएनन् ।

अहिले विपक्षमा रहेको लेबर पार्टीका नेता रहेको समयमा उनको नेतृत्वमा लेबरले ४ पटकसम्म जित हासिल गरेको थियो । उनी अष्ट्रेलियाका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने नेताका रूपमा चिनिन्थे । अष्ट्रेलियालाई अन्तर्राष्ट्रियरुपमा ससक्त रुपमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको श्रेय उनलाई दिइने गरिन्छ । उनले अष्ट्रेलियाको स्वास्थ क्षेत्रमा सर्वसाधारणलाई सहज र सुलभ पहुँच दिने मेडिकेयरको सुरुवात गरेका थिए । पछिल्लो समयमा सक्रिय राजनीतिबाट टाढै रहे पनि उनी लेबर पार्टीको संरक्षक मानिन्थे ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले उनको मृत्युले अष्ट्रेलियालाई ठूलो क्षति पुगेको बताएका छन् । उनले अष्ट्रेलियालाई महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै मरिसनले उनी देशको लागि अहोरात्र खट्ने र मनदेखि काम गर्ने नेता भएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!