घुम्ती गोठमा चट्याङ पर्दा २८ वटा भेडा मरे

लमजुङ, वजेठ २ । जिल्लाको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडा लेकको घुम्ती गोठमा चट्याङ पर्दा २८ वटा भेडा मरेका छन् । घटना बैशाख २८ गते घटेको भएपनि बाहिर भने ढिला सार्वजनिक भएको हो । घटनामा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

लेकमा दूधपोखरी– ६ र दोर्दी–५ का किसानले पतिपुरे सामुदायिक भेडापालन समूह गठन गरी सामूहिक रुपमा घुम्ती गोठ बनाएर भेडा पालेका छन् । घटनास्थलमा प्राविधिक तथा भेडापालक किसान मंगलबारमात्रै पुगेका थिए। दूधपोखरी गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक दीनेश गुरुङका अनुसार भेडा मरेको खबर पाएपछि टोली त्यसतर्फ गएको हो।

दोर्दीका पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ किसान एक दिनको बाटो पैदल हिँडेर भेडीगोठ पुगेका थिए। दोर्दीका किसान दूरजंग गुरुङका अनुसार गोठमा ५ सय ५० भेडा र सय वटाभन्दा बढी बाख्रा थिए। गोठमा दूधपोखरी गाउँपालिका ६ को ओखरी, भीरकुना, साल्मे साथै दोर्दी गाउँपालिका ५ को पाचोक, सिम्रुङ लगायत गाउँका २५ जनाका भेडा थिए।

कमेन्ट गर्नुहोस्