सहिदगेटकी आमा

हरिहर खनाल । पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने र दृश्यावलोकन गर्ने बहानामा टहलिँदै हिँड्ने मानिसहरूको उपस्थितिले त्यस वरपरको वातावरणमा जीवन्ततालाई प्रदर्शन गरिरहेको थियो ।

निकै परतिर नदीको बीच भागतिर माछा समात्न तल्लीन मछुवारहरू तिनीहरूका ससाना डुङ्गाबाट जाल हानिरहेका देखिन्थे । त्यसरी नै अझ परतिर जलविहारमा रमाइरहेका पर्यटकहरूलाई बोकेर ससाना छत्तर भएका रङ्गीचङ्गी डुङ्गाहरूपानीको सतहमा सुलुत्त बग्दै बिस्तारै तैरिइरहेका देखिन्थे । नदीपारिको हरियो जङ्गल सघन रूपमा आँखाको विस्तारित दृष्टिभित्र नअटाउने आयतनमा फैलिएको देखिन्थ्यो ।

वारि, नदीको सतहभन्दा पाँच मिटरजति पूर्व, उत्तर र दक्षिणतिर फैलिएको कतै काँसघारी र कतै सिसौका ससाना बोटहरूले ढाकिएको विशाल मैदान र त्यसको पूर्वी किनारबाट उत्तर–दक्षिण दौडिएको प्रशस्त फराकिलो कालोपत्रे सडकको सतहमा दौडिइरहेका सार्वजनिक सवारी साधनहरू केही समयको अन्तरालमा लगातार आउने जाने क्रम चलिरहेको थियो । फुटपाथमा मानिसहरू ओहोरदोहोर गरिरहेका थिए । केही मानिसहरू साइकलमा समेत कुदिरहेको देख्न सकिन्थ्यो ।

मूल सडकको पश्चिम किनारमा फुटपाथसँगै ढुङ्गाको पर्खालले घेरिएको, पर्खालको माथिल्लो खण्डमा तारबार लगाइएको करिब डेढ हेक्टर क्षेत्रफलको एउटा सानो भूभाग थियो जसको बिचोबिचमा षट्कोण आकारमा जमिन सतहबाट एक मिटरजतिको उचाइमा सिङ्गमर्मर बिछ्याइएको लगभग १५ स्वायर मिटरको चौकोजस्तो एउटा उच्च भाग थियो जसको मध्यभागमा झण्डै ६ फिट अग्लो चारपाटे स्तम्भ थियो र त्यसका चारै पाटामा अनगिन्ती मानिसका नाम लेखिएका ग्रेनाइटका लाम्चो आकारका स्लेटहरू टाँसिएका थिए ।

उच्चस्थल तल जमिन सतहमा चारैतिर दुई मिटरजतिको भूभागमा मसिनले मिलाएर काटेका चिटिक्कका ससाना चारपाटे ढुङ्गाका छपनीहरू बिछ्याइएका थिए र त्यस समतलको सतहबाट पूर्व पश्चिम, उत्तर दक्षिण चारैतिर दुई फिट चौडाइका, त्यस्तै ढुङ्गा छापिएका ससाना सफा बाटा कम्पाउन्डको किनारसम्म पुगेर जमिनको त्यस क्षेत्रफललाई घेरेर लगाइएको पर्खाल नजिकैबाट त्यति नै चौडाइ भएको, पर्खालसँगै चारैतिर घुमेको ग्य्राभल बाटामा मिसिएका थिए ।

पार्कको बिच भागबाट बाहिर मूल सडकसँगै जोडिएको सहिदगेटमा निस्कने बाटो उत्तर, दक्षिण र पश्चिमतिर गएका फुटपाथभन्दा तुलनात्मक रूपमा केही फराकिलो थियो । बाहिर मूलगेटमा पुग्नैलाग्दा देब्रेतिर सानो एउटा प्रतीक्षालय देख्न सकिन्थ्यो । सहिदपार्क नामले सुपरिचित त्यस ठाउँमा बिहान बेलुकाका समयमा त्यस वरपरका बालबालिका, युवायुवती, वृद्धवृद्धासहित सबै उमेर समूहका मानिसहरूको पातलो उपस्थिति देख्न सकिन्थ्यो । खुट्टा तन्काउनका लागि त्यस ठाउँमा पुग्ने जो कोही पनि तिनै ससाना फुटपाथको बाटो बाहिरको घेरामा दुईचार फेरो लगाएर बाहिरिन्थे । फुटपाथ वरपरका खाली ठाउँँमा कतै कतै फाट्टफुट्ट रूपमा थरिथरिका पूmलका बोटबिरुवा पनि देखिन्थे, तर बिना गोडमेल र हेरचाहका ती बिरुवा कुपोषणले थलिएका बालकालिकाजस्तै शुष्क र निरस देखिन्थे ।

बिहान बेलुकी त्यसरी त्यहाँ घुम्न जाने मानिसहरूका बीचमा झन्डै ५५ वर्षकी एउटी महिला पनि देखिन्थिन् । अरू आगन्तुकहरूको कुनै नियमितता थिएन । मन लागे जाने, नलागे नजाने गर्थे कतिपय मानिसहरू तर ती महिलाको कुरा भने अलिकति फरक थियो । बाह्रैमास नित्य निरन्तर, हरेक साँझबिहान तिनी त्यहाँ पुग्थिन् र माटाको दियोमा तेल थप्थिन्, सलाई कोरेर बत्ती बाल्थिन्, वेदना र पीडाले थिलोथिलो भएको मुटु अँठ्याउँदै उठ्थिन् र सहिदस्तम्भको सिरानमा कँुदिएको उनको छोराको नाम लेखिएका अक्षरतिर हेरेर एकछिन टोलाउँथिन् । साउनमासको पानी पर्न थालेको आकाशजस्तो बोझिलो अनुहार बनाएर पछाडि फर्किन्थिन् अनि विस्तारै सिँढी ओर्लेर तल झर्थिन् र बाहिरको मूलगेटतिर लाग्थिन् ।

शरदऋतुको एक साँझ, एकजना २३÷२४ को युवक सहिदगेटमा पुगेपछि फुटपाथबाट देब्रेतिर मोडिएर सरासर पार्कभित्र पस्यो । दाहिनेतिर ससानो एउटा प्रतीक्षालय थियो । त्यस विश्रामस्थलमा ती महिला आफ्नै तन्मयतामा हराएर त्यहाँ एक्लै बसिरहेकी थिइन् । उसले तिनीतिर एक झलक हे¥यो र सरासर अगाडि बढ्यो । ऊ लमक लमक गर्दै पार्कको बिच भागसम्म पुग्यो र छपनी बिछ्याइएको सानो बाटो हुँदै अगाडि बढ्यो । सामान्यभन्दा अलिकति छिटो पाइला चाल्दै उसले त्यस पार्कको चारपाँच फेरो लगायो ।

अघिसम्म पारि डाँडाको चुचुरोमा भएको सूर्य पहाडबाट कोल्टे परेर पछाडितिर लुक्न लागिसकेको थियो र यतापट्टिको भागमा डाँडाको छाया खसिसकेको थियो ।

पार्क वरपर आधा घण्टाजति जगिङ गर्दै दौडेपछि अलिकति थाकेजस्तो भएको ऊ बाहिरतिर निस्कँदै गर्दा प्रतीक्षालय जस्तो त्यस विश्रामस्थलनेर पुगेपछि त्यसका गोडा त्यसै रोकिए । उसले देख्यो, प्रतीक्षालयमा बसिरहेकी ती महिला त्यति बेलासम्म पनि त्यहीँ नै थिइन् । दुःख, दर्द र अनन्त वेदनाको पहाडले थिचिए जस्तो लाग्ने तिनको अनुहार निकै क्लान्त देखिन्थ्यो । तिनको काँधमा एउटा पुरानु भइसकेको रातो रङको नेपाली घरेलु तानमा बुनेको झोला झुन्डिइरहेको थियो । ऊ भित्र पस्ता जुन ठाउँमा जसरी बसिरहेकी थिइन् तिनी त्यति बेलासम्म पनि त्यही ठाउँमा त्यसरी नै बसिरहेको देखेपछि त्यसका मनमा ती महिलाबारे अनेक जिज्ञासा उत्पन्न भए । नजिकै पुगेपछि त्यस युवकलाई त्यत्तिकै कुरा नगरिकन, एक शब्द पनि नबोलिकन बाहिर जान मन लागेन । त्यसपछि ऊ प्रतीक्षालयका खुट्किला चढेर माथि उक्ल्यो र दक्षिणतिरको छेउको आसनमा बस्यो । तिनी मानाै उसको आगमनले समेत कुनै प्रकारको असर नगरेसरि पूर्ववत् चुपचाप निःशब्द कुनै विचारमा डुबेर बसिरहेकी जस्ती देखिन्थिन् । युवकका मनमा तिनका विषयमा जान्ने अलिकति जिज्ञासा पलाएर आयो । उसले देख्यो, यति बेला उनी काँधको झोलालाई काखमा च्यापेर बसिरहेकी थिइन् । मानिसहरू पार्कतिर आउने क्रम लगभग रोकिएको थियो । ती सबै कुरामा उनको कुनै ध्यान थिएन । असहायजस्तै लाग्ने ती वृद्धाको अवस्था देखेर उसको मन कुँडियो । उसका मनमा विविध प्रकारका अनगिन्ती प्रश्नहरू उठे ।

“साँझ परिसक्यो, यति बेलासम्म किन एक्लै यहाँ बसिरहनुभएको आमा ?” उनीतिर हेर्दै उसले सोध्यो । सुरुमा उनले कुनै जवाफ फर्काइनन् । आँखा अलिकति उठाएर ऊतिर केवल हेरिन् मात्र ।

“बिरामी हुनुहुन्छ आमा ?” पहिलो प्रश्नको उत्तर नपाएपछि उसले पुनः सोध्यो । उसको दोहोरिएको प्रश्नले थोरै मात्रामा उनको ध्यान ऊतिर खिचिए जस्तो महसुस गर्यो उसले । त्यसपछि उनले सुस्तरी यसो भनेको सुन्यो ।

“सन्चै छु बाबु, काल आएन, यसै मर्न सकिनँ । बाँच्ने चाल पनि छैन । अरू खै के भनूँ बाबु ?” तिनको कपाल खजमजिएको थियो र अनुहार निकै मलिन देखिन्थ्यो । ऊतिर हेर्दाहेर्दै तिनका आँखा रसाए । उनले लुगाका फेरले आँसु पुछिन् ।

“नरुनुस् आमा, रोएर दुःख जाँदैन ।” उसले भन्यो । तिनी निकै बेरसम्म गम्भीर मुद्रामा बसेको देखेर युवकका मनमा अनेक प्रकारका तर्कना चल्न थाले । तर धेरै कुरा गरेर उनको मन दुखाउन चाहेन उसले ।

“आमा, साँझ पर्न थाल्यो, हिँड्नोस्, म तपाईँलाई तपाईँको घरसम्म पुर्याइदिन्छु ।” युवकले उनको अनुहारतिर हेरेर यसो भन्यो ।

तर उनले त्यसको कुनै प्रतिक्रिया दिइनन् । बरू तिनले मलिन स्वरमा भनिन्,– “बाबु, तिमी को हौ ? तिमी जो भए पनि मैले तिम्रो अनुहारमा मेरो छोराको मुहार प्रतिविम्बित भएको देखेँ बाबु !”

उनको भनाइ सुनेर युवकको मन एकदम स्तव्ध भयो । “तपार्इँका छोरा कहाँ हुनुहुन्छ र आमा ?” त्यसले विनम्र स्वरमा भन्यो ।

“छैन बाबु त्यो । दैवले चुँडेर लग्यो उसलाई ।” उनले यति भनेपछि उसको पूरै जिउ बिलकुलै शीताङ्ग भयो ।

“कहिले ? कसरी आमा ?” अलिकति विह्वल स्वरमा उसले सोध्यो ।

“भयो बाबु, पाँच वर्षजति । हराम न बिराम, राजाका सेनाले त्यसको प्राण हरे । देश युद्धमा फसेको समयमा तिनीहरूले मेरो मुटुको टुक्रा चुँडेर लगे बाबु । युद्ध सकियो, त्यसपछि नेताहरूले यहाँ ल्याएर थन्क्याए उसलाई ।” तिनको कुरा सुनेर युवक एकदम स्तब्ध भयो । तिनले फेरि थपिन्, “मर्ने चोला हो । एकचोटि सबै मर्नुपर्छ । तर तिनीहरूले मेरो छोरालाई अकालमै मारे । मेरो छोरालाई मारेर के पाए तिनीहरूले ? मेरो छोराजस्ता हजारौँ युवा युवतीलाई मारेर के उपलव्धि हासिल ग¥यो सरकारले ? मेरो छोराको बलिदानले के पायो देशले ? मेरा खसमको समर्पणले कहाँ के भयो दुनियाँदारका लागि ?” यस्तो लाग्थ्यो, तिनको हृदयको अतल गहिराइबाट प्रश्नहरूको मूल फुटिरहेको छ, तर ती सबै प्रश्नहरू अनुत्तरित छन् । युवक त्यो सबै सुनेर स्तव्ध भयो । के गर्ने होला भन्ने कुनै उपाय सुझेन त्यसलाई । त्यसको अनुहार झन् गम्भीर देखियो ।

“बुबा पनि हुनुहुन्न ?” युवकको प्रश्न सुनेपछि तिनले अलिकति धैर्यधारण गरेर भनिन्, “हो बाबु, मेरा खसम पनि उही बाटो लाग्नुभयो । जनताको सेवा गर्छु, जनताकै लागि मर्छु भन्नुहुन्थ्यो, त्यस्तै हुनगयो ।”

“कसरी त्यस्तो हुन गयो आमा ?” किंकर्तव्यविमूढ त्यस युवकले ती वृद्धाको अनुहारतिर हेरेर भन्यो ।

“छोराको बीभत्स हत्या ग¥यो सेनाले । उसको अवसानपछि हामी दुबै निकै लामो समयसम्म एकदम असहायजस्ता, एक प्रकारले भन्दा विक्षिप्त नै भयौँ । धेरै मानिसहरूले हामीलाई आतङ्ककारी करार गरे र हामीसित बोल्न समेत छोडे । पार्टीका एकाध मानिसहरू कहिलेकाहीँ लुकिछिपी हामीकहाँ आउँथे र हामी छौँ, नरुनुस् भन्थे । तर त्यो त केवल सान्त्वना दिने प्रयत्न मात्र रहेछ । हाम्रो छोराको ठाउँ लिन त कसैले पनि सक्ने थिएन । सक्ने कुरा पनि भएन ।” तिनी एकछिन रोकिइन् र सोचमग्न भइन् । त्यसपछि पुनः उनले भनिन्, “धेरै धैर्यवान र स्वाभिमानी हुनुहुन्थ्यो मेरा खसम । भन्नुहुन्थ्यो– ‘पीर नगर । के गर्ने त ? यस्तै हो हाम्रो जीवन । हाम्रो छोराको रगत देश र शोषित पीडित जनताको मुक्तिको खातिर बगेको हो । त्यो त्यसै खेर जाने छैन । एक दिन मुक्तिको बिहानी पनि देख्न पाउने छौँ हामीले । उसको बलिदानले तिम्रो कोख महान् हुन पुग्यो । तिमी देश र जनताका लागि आफ्नो प्राण आहुति दिने महान् वीरकी जननी हौ । तिमी महान् छौ ।’ छोरालाई सम्झेर कहिलेकाहीँ म आपूmलाई समाल्नै नसकेर बेसरी रुन्थेँ । त्यति बेला मलाई सम्झाउँदै उहाँ यसो भन्नुहुन्थ्यो मलाई । उहाँका कुरा सुनेपछि म बिस्तारै चित्त बुझाउँथेँ र आफैलाई समाल्थेँ । तर दैवको लीला बुझिनसक्नु रहेछ बाबु । एक दिन उहाँ पनि जानुभयो मलाई यो दुःखैदःुखले भरिएको संसारमा एक्लै छाडेर ।” उनी यति भनेर रोकिइन् । युवक एकछिनसम्म केही बोल्न सकेन । झमक्क साँझ परिसकेको थियो । वृद्धा उठिन् र झोला काँधमा भिरिन् ।

“आमा, झोला म बोकिदिन्छु, दिनुस् मलाई ।” युवकले आदरपूर्वक भन्यो ।

“भयो बाबु, पर्दैन । तिम्रो सदाशयताका लागि धन्यवाद । यो मेरा खसमको नासो हो । म आफैँ बोक्छु ।” सिँढीबाट तल झर्दै उनले भनिन् ।

“कस्तो नासो आमा ?” जिज्ञासावश उसले सोध्यो ।

“यसमा उहाँका अप्रकाशित कृतिहरू छन् ।” उनले छोटो उत्तर दिइन् ।

“के तपाइँका श्रीमान् लेखक हुनुहुन्थ्यो ?” युवकले अलिकति सहज हुने प्रयत्न गर्दै सोध्यो ।

“हो बाबु । उहाँले लेखेका केही कृतिहरू प्रकाशित भइसकेका छन्, तर अप्रकाशित कृतिहरू पनि सबै कति छन् त्यो मलाई राम्ररी थाहा छैन । उहाँ बितेपछि खोजी गर्दा मैले जे जति पाण्डुलिपि भेटेँ, ती यिनै हुन् । तिनलाई मैले यहीँ राखेकी छु ।

“अनि ती कृतिहरू प्रकाशित गर्न कसैले चाख देखाएनन् ?” युवकले जिज्ञासा राख्यो ।

“इच्छा भएको भए सक्ता हुनन् बाबु । उतिबेला पार्टीका तर्फबाट श्रद्धाञ्जली दिनका लागि उहाँको पार्थिव शरीर पार्टी कार्यालयको प्राङ्गणमा राखेर त्यसमाथि पार्टीको झण्डा ओढाएर फूलमाला र अबिरले पुरेपछि मलिन तर गम्भीर स्वरमा नेताहरूले गरेका भाषण मेरा कानमा अझै पनि गुन्जिरहेका छन् । उहाँको बलिदानको प्रशंसामा भाषण गर्दै उनीहरूले भनेका थिए, “हामी उहाँको बलिदानलाई यसै खेर जान दिने छैनौं । उहाँका अप्रकाशित सबै कृतिहरू प्रकाशित गरेर जनजनका दैलामा पुर्याउने व्यवस्था मिलाउने छौँ ।” पार्टीका सबै ठुला नेताहरूले यसै भनेर कसम खाएका थिए । त्यसपछि पनि पूर्वबाट घाम उदाउने र पश्चिमको आकाशमुनि लुकेर अस्ताउने काम निरन्तर भइरह्यो । त्यस बाहेक अरू केही भएन बाबु । आम जनताको दुःख हिजो जेजस्तो थियो आज पनि उस्तै छ । नेताहरू एक आपसमा आरोप प्रत्यारोप लगाएर आपूmमात्र सही छु भन्ने देखाउन तल्लीनतापूर्वक लागिरहेका छन् । त्यस बाहेक केही हुन सकेन बाबु ।” यति भनेर वृद्धा चुप लागिन् ।

“अनि यो झोला सँगै बोकेर किन हिँड्नुहुन्छ आमा ?” छुट्टिने बेलामा युवकले थप एउटा जिज्ञासा राख्यो ।

“उहाँका कृतिका पाण्डुलिपि बोकेर हिँड्दा म सधैँ उहाँ सँगसँँगै हिँडिरहेको आभास हुन्छ बाबु मलाई । सुरुसुरुमा असजिलो लागे पनि अब त बानी प¥यो मलाई । यो झोला मेरो साथीजस्तै भएको छ यति बेला ।” उनले यसो भनेर उत्तर दिइन् ।

मूल सडकको पेटीबाट हिँडिरहेका ती दुई जना निकै पर पुगेपछि महिला उत्तरतिर लागिन्, युवक भने पूर्वको बाटो समातेर लगातार अघि बढ्दै गयो । त्यति बेलासम्म सडक किनारका सोलार बत्तीबाट निस्केको प्रकाशले अँध्यारोको कालो पर्दा चिर्दै यत्रतत्र सर्वत्र उज्यालो प्रकाश बर्साइरहेको थियो । (स्रोतः कथालय–अङ्क १–साउन–असोज, २०७४)

कमेन्ट गर्नुहोस्