११ हजार बढी कर्मचारी माग्दै लोकसेवा, स्थानीय सरकार किन भयो असन्तुष्ट?

काठमाडौं, जेठ ६ । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो ।

यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउन पत्राचार गरेलगत्तै ४ सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी अपुग रहेको विवरण मन्त्रालयलाई पठाएका थिए । आयोगका अनुसार ८० प्रतिशतभन्दा बढी खरिदार, नायब सुब्बा ‘प्राविधिक र प्रशासनिक’ का लागि भर्ना खुलाइनेछ । यसपछि क्रमशः अधिकृत र अन्य स्तरका कर्मचारी भर्नाका लागि विज्ञापन खोलिनेछ ।

यसैबीच संविधानको मर्म र स्थानीय तहको अधिकार क्षेत्र कुण्ठित हुने गरी कर्मचारी भर्ना गर्न लागिएको आरोप लगाउँदै काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहका मेयरहरुको संयुक्त फोरमले असहमति जनाएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले संघीय सरकारले स्थानीय तहमा कर्मचारी भर्ना गर्न नसक्ने बताउँदै भने, ‘कर्मचारी समायोजन गर्दा सल्लाह नगरेको मन्त्रालयले अहिले आफैं कर्मचारी भर्ना गर्न खोजेर स्थानीय तहलाई पंगु बनाएको छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!