भरतपुर महानगरद्वारा रंगशाला निमार्णका लागि एक महिनाको तलब दिने घोषणा

भरतपुर, जेठ ९ । भरतपुर महानगरको जेठ ३ गते बसेको २८औँ बोर्ड बैठकले विविध निर्णयहरु गरेको छ । वडा भेला, नगरसभा, योजना छनोट, बजेटबारे छलफलजस्ता महत्वपूर्ण कार्यहरु गर्ने भनी बोर्ड बैठकले निर्णय गरेको महानगरका प्रवक्ता एवम् वडा १० का अध्यक्ष अरूण पीडित भण्डारीले बताए । महानगरले असार १० देखि १३ गतेसम्म नगरसभा सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यस्तै, भरतपुरका २९ वटै वडामा गई महानगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वडा भेला गरिने भएको छ । बोर्ड बैठकको निर्णयअनुसार जेठ १६ गतेबाट २१ गतेसम्म ३ जनालाई वडा विभाजन गरी भेला सम्पन्न गर्ने निर्णय भएको प्रवक्ता अरूण पीडित भण्डारीले बताए ।

वडा भेला सकिएको ३ दिनभित्र योजना तथा कार्यक्रमहरु प्राथमिकताका आधारमा महानगरमा पेश गर्ने निर्णय भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कार्यपालिका सदस्यहरुका तर्फबाट एक महिनाबराबरको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ ।

प्रारम्भिक बाल शिक्षा केन्द्र एवम् शिशु विकास केन्द्र व्यवस्थापन निर्देशिका–२०७६, करारमा शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि र पूर्वतयारी कक्षा एवम् भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७६ लाई बोर्ड बैठकले पारित गरेको प्रवक्ता भण्डारीले बताए ।

त्यस्तै, वडा नं. ७ को गौतमचोकदेखि पश्चिमतर्फको सडक पिचको विषयमा अख्तियारले औँल्याएको कैफियत सच्याइ काम भएकाले आवश्यक अनुगमन गरी भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय भएको छ । त्यस्तै, वडा २ को भवन निर्माणका लागि हालै संरक्षण गरिएको ६ कट्ठा जग्गामा भवन निर्माण प्रक्रिया थाल्ने निर्णय भएको छ ।

महानगर परिसरमा बैंकको एक्सटेन्सन काउन्टर राख्ने विषयमा पनि आवेदन परेकामध्येबाट छनोट गरी अनुमतिका लागि राष्ट्र बैंकसमक्ष अनुरोध गर्ने निर्णय भएको छ । वडा नम्बर ३ मा निर्माण हुने अटोल्यान्ड र स्थानीयबीचको जग्गाको हकमा २ मिटर स्थानीयबाट र बाँकी सार्वजनिकबाट दिने निर्णय भएको छ ।

भरतपुर २१, पार्वतीपुरको पूर्व रंगिलास्थित ९ नम्बर कित्ताको ५ कट्ठा जग्गा अस्थायी प्रहरी बिटले भोगचलन गर्दै आएकोमा प्रहरी चौकी बनाउन वडा समितिबाट जग्गा सिफारिस भई आएकोमा भोगचलनका लागि दिने निर्णय भएको प्रवक्ता भण्डारीले बताए ।

महानगरको वडा २६, २७ र २८ मा नारायणी नदीले कटान गरी बस्ती पस्न लागेकोमा जम्मा भएको नदीजन्य पदार्थ हालका लागि वडा २६ को भंगेरी क्षेत्रबाट बाढी प्रभावित हुन नदिन नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थापन गरी महानगरबाटै सञ्चालित आयोजनालाई बिक्रीवितरण गर्न दिने निर्णय भएको छ ।

राजस्व ३६ करोड उठ्यो

भरतपुर महानगरपालिकाले वैशाख महिनासम्ममा ३६ करोड रूपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २३ करोड संकलन भएकोमा अहिले ३६ करोड संकलन भएको महानगरकी उपसचिव सिर्जना थपलियाले बताइन् ।

आन्तरिक आय ८५ करोडको लक्ष्य लिएकोमा २० करोड जनसहभागिताबाट उठाउने लक्ष्य रहेको छ । ५५ करोड कर संकलन लक्ष्य रहेको छ । राजस्व लक्ष्य भेट्नेमा आफूहरु आशावादी रहेको उनले बताइन् । साथै, भरतपुर महानगरभित्र कर संकलन प्रणाली व्यवस्थित गर्न लागिएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!