प्रधानमन्त्री कृषि परियोजनामा अनियमितता गर्ने विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं, जेठ १० । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनियमितता गरेको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) पर्सामा अनियमितता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साबिकको जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा र लेखापाल सत्यनारायण सहनीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जमा सब–इन्जिनियरको पदमा कार्यरत राकेशकुमार महतो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) पर्साका सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरी, नितु कन्स्ट्रक्सनका प्रोप्राइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादवविरुद्ध आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कृषि विकास अधिकृत सिन्हा, लेखापाल सहनी र सब–इन्जिनियर महतोविरुद्ध एक लाख ४७ हजार तीन सय दुई रुपैयाँ बिगो दाबी गरिएको छ । अन्यविरुद्ध बिगो किटान नगरी मुद्दा दायर गरिएको छ ।

प्रतिस्पर्धा सीमित हुने गरी कोटेसन
आर्थिक वर्ष २०७४र०७५ को बजेटमा अनियमितता गरिएको अख्तियारको भनाइ छ । कार्यालय प्रांगणमा निर्माण तथा मर्मत कार्य गर्दा लागत अनुमान टुक्र्याई निर्माण व्यवसायीसँगको मिलेमतोमा सीमित प्रतिस्पर्धा हुने गरी टुक्राटुक्रा पारी कोटेसनबाट काम गराई अनियमितता भएको हो । न्यून गुणस्तरको सामान प्रयोग गरी रंगरोगन गरेको साथै प्राविधिकबाट चेक भएको बनाई ठेक्कासम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन र नापी किताब बदनियतपूर्वक नक्कली र झुटो बनाएर भुक्तानी दिइएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जमा सब–इन्जिनियरको पदमा कार्यरत राकेशकुमार महतोले आफू कार्यसम्पन्न प्रतिवेदनसमेत दिनुपर्ने कर्तव्य भएको व्यक्ति नहुँदा नहुँदै पनि डिभिजन कार्यालय पर्साको नक्कली किर्ते लेटरहेडमा नक्कली किर्ते छाप बनाई हस्ताक्षर गरेर कार्यसम्पादन प्रतिवेदन बनाएकोसमेत अनुसन्धानमा खुलेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ ९तरकारी जोन० पर्साका सञ्चालक समितिका अध्यक्ष कोइरीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदानको रकम वितरण गर्दा बदनियतपूर्वक भर्पाईमा अंक थप्ने, सच्याउने एवं कम रकम वितरण गरी बढी रकमको भर्पाई बनाई अनियमितता गरेका थिए ।

नितु कन्स्ट्रक्सनका प्रोप्राइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादवले लागत अनुमान, कार्यसम्पन्न प्रतिवेदनलगायतका कागजातमा डिभिजन कार्यालय पर्साको हेडर र छाप प्रयोग भएको नक्कली कागजात तयार गर्ने र सोका आधारमा भुक्तानी लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!