च्याम्पियन्स लिगः उपाधिका लागि टोटनह्याम र लिभरपुल भिड्दै

काठमाडौं, जेठ १८ । युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आइतबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् । प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो सिजन अर्को उपाधि जित्ने मौका रहेको छ ।

युरोपियन फुटबलको सर्वाधिक धेरै पुरस्कार राशीको प्रतियोगिता जित्न सकेमा लिभरपुल च्याम्पियन्स लिगको उपाधि जित्ने तेस्रो क्लब हुनेछ । छैटौँ पटक यो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको यो मौका मड्रिडमा कतिको सफल होला त्यो हेर्न बाँकी छ । यता टोटनह्याम पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

सेमिफाइनलमा लिभरपुल र टोटनह्यामले आश्चार्यजनक कमब्याक गर्दै फाइनलमा पुगेका हुन । अघिल्लो संस्करण च्याम्पियन्स लिगमा स्पेनिस क्लबको वर्चश्व रहेका बेला यसपटक इंग्लिस क्लबले जमाएका छन । सन् २००८ पछि च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब खेल्न लागेका हुन । त्यस बेला म्यानचेस्टर युनाइटेड र चेल्सी खेलेका थिए ।

यसपटक सेमिफाइनलमा बार्सिलोनाविरुद्ध तीन गोलले पछि परेर ऐतिहासिक कमब्याक गरेको लिभरपुल र अन्तिम मिनेटमा लुकास मोउराको गोलमा फाइनलमा यात्रा तय गरेको टोटनह्यामका खेलाडीका लागि मात्र होइन, प्रशिक्षकका लागि पनि उतिकै महत्वपूर्ण छ । जुर्गेन क्लोप र माउरिसियो दुवैले अहिलेसम्म ठूलो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन ।

गत सिजन पनि च्याम्पियन्स लिगको फाइनलमा पुगेर उपाधि जित्नबाट चुकेको लिभरपुल फाइनलमा रियलसँग तीन(एकले हारेको थियो । फाइनलमा टोटनह्यामका मुख्य खेलाडी ह्यारी केन खेल्ने सम्भावना प्रबल रहेको छ ।

यो खेल केन र मोहम्मद सलाहबीचको खेलका रुपमा पनि हेरिएको छ । लिभरपुलका मुख्य खेलाडी सलाहले च्याम्पियन्स लिगको फाइनलमा गोल गरेर टिमलाई उपाधि दिलाउने इच्छा रहेको बताएका छन । त्यसैले पनि फाइनल खेल निकै उत्कृष्ट हुनेमा विश्वास गरिएको छ । खेल नेपाली समयअनुसार आइतबार राति १२ः४५ मा सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!