‘हेल्लो जिन्दगी’बाट अभिनेत्री श्वेता बाहिरिन्, प्रियंकाको ‘इन्ट्री’

काठमाडौं, जेठ १९ । अभिनेत्री श्वेता खड्काको मुख्य भूमिका रहने भनिएको चलचित्र ‘हेल्लो जिन्दगी’बाट अन्ततः उनी बाहिरिएकी छन् ।

गर्धनमा ट्युमरको अप्रेसन गराएकी अभिनेत्री खड्का स्वास्थ्यको कारण देखाउँदै चलचित्रबाट बाहिरिएकी हुन्। यसअघि उनले फिल्मका केही दृश्यमा समेत अभिनय गरिसकेकी छन् । उनले अस्पतालबाटै स्वास्थ्यको कारण फिल्ममा काम गर्न असमर्थ रहेको बताएकी थिइन् ।

भरेष्ट सूर्य बोहोराको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण पक्षले श्वेताको स्वास्थ्य लाभ हुने बेलासम्मका लागि फिल्मको छायाँकन स्थगित गरेको थियो । तर, उनी स्वस्थ नभएपछि निर्माण पक्षले नायिका प्रियंका कार्कीलाई अनुबन्ध गरेर छायांकन अगाडि बढाएको छ । ‘हामीले श्वेताजीलाई लामो समय कुर्यौ तर उनको स्वास्थ्य ठीक नभएपछि प्रियंकालाई लिएर छायाँकन आरम्भ गरेका हौँ’, निर्देशक बोहराले भने ।

काठमाडौं र युरोपमा छायाँकन गरिने हेल्लो जिन्दगीमा प्रियंकाका साथमा दीपिका प्रसाईं, सलोन बस्नेत, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहने छ । बिहीबारबाट पुनः आरम्भ भएको छायाँकनमा प्रियंकाले पहिलो सट समेत दिइसकेकी छन् । सिर्जना जोशी निर्माता रहेको फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानर बन्न लागेको हो । फिल्मका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर रहने छ।

कमेन्ट गर्नुहोस्